दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सको ब्ल्याक बक्स सिङ्गापुर पठाइयो

दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सको ब्ल्याक बक्स सिङ्गापुर पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एअरलाइन्सको जहाजको ब्ल्याक बक्स परीक्षणका लागि सिङ्गापुर पठाइएको छ ।

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज उडान भर्ने बित्तिकै दुर्घटना भएको थियो । विमानमा सवार १८ जनाको मृत्यु भएको थियो भने चालक मनिष शाक्यलाई उद्धार गरिएको थियो ।

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको नेतृत्वमा दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । आयोगका अध्यक्ष सुमन ब्ल्याक बक्स लिएर सिङ्गापुर पुगेका छन् ।

अधिकारीहरूका अनुसार ककपिट भोइस रेकर्डर नेपालमा पनि सुन्न सकिन्छ तर त्यसलाई खोलिसकेपछि कुनै कारणले डेटा उड्यो वा रिकभर गर्नु पर्‍यो भने त्यसलाई पुनः पहिलाकै अवस्थामा ल्याउने विश्वसनीय क्षमता र सुविधासम्पन्न प्रयोगशाला नेपालमा छैन ।

नेपालमा हवाई सुरक्षासम्बन्धी छुट्टै स्वायत्त निकाय र प्रयोगशाला भने छैन ।

नेपालमा यसअघि भएका विमान दुर्घटनापछि ती विमानका ब्ल्याक बक्सलाई पनि परीक्षणका लागि विदेश पठाइने गरिन्थ्यो । गत वर्ष माघ १ गते ७२ जनाको ज्यान जानेगरी पोखरामा भएको यती एअरलाइन्सको विमानको ब्ल्याक बक्स पनि सिङ्गापुरमा पठाएर परीक्षण गरिएको थियो ।

ब्लाक बक्समा हुने ककपिट भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफडीआर) दुर्घटनाको अध्ययन गरिन्छ ।।

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्वपूर्ण हुन्छ ।

ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ ।

फ्लाइट डेटा रेकर्डरमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो–पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ ।

प्राविधिकहरूका अनुसार ककपिट भोइस रेकर्डरमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन् छ। यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ ।

यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्समेन्टको रेकर्ड हुने गर्छ । दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सङ्ग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन् ।