काठमाडौं – संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले जाँचबुझका लागि शंकास्पद हरिएका सामान नियन्त्रणमा लिएको छ।
यौन दुराचारको आरोप लागेपछि सभामुख महराले पदबाट समेत राजीनामा दिइसकेका छन्। घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार पनि ती महिलाको कोठाबाट सम्बन्धित जाँचबुझका लागि सहायक हुन सक्ने शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिए।
उनका अनुसार पीडित पक्षले अहिलेसम्म प्रहरीमा उजुरी भने दिएकी छैनन्। प्रहरीमा उजुरी गर्नुअघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनी स्वास्थ्य परीक्षण गर्न मानेकी छैनन्। पीडित महिलाले सोचेर तथा सल्लाह गरेर निर्णय लिने प्रहरी समक्ष बताएको सुवेदीले बताए। अरूसरह छानबिन र कारबाही हुने महान्यायाधिवक्ता अग्नि खरेलले पत्रकारहरूसँग कुरा गर्दै ’घटना भएपछि सभामुख वा ठूलो मान्छे भनिँदैन।
यस्तो अपराधमा सर्वसाधारणलाई जस्तो कानुन लाग्छ यो विषयमा पनि त्यस्तै कानुन हुन्छ। कानुनबमोजिम जे हुनुपर्ने हो त्यही हुन्छ’ भन्ने प्रतिक्रिया दिएका छन्। सभामुख महरा र ती महिलाबीच आइतबार बेलुकाको भएको भनिएको घटनालगत्तै महिलाले १०० फोन गरेर प्रहरी बोलाएकी थिइन्।
यस्तै प्रहरीले सोमबार बिहानैबाट उक्त घटनाको प्राविधिक अनुसन्धान सुरु गरिसकेको दाबी स्रोतले गरेको छ। प्रहरीले हिजै मोबाइलको कल डिटेल्स तथा महरा र महिलाबीच सामाजिक सञ्जाल लगायत अन्य अनलाइनको माध्यमबाट भएको कुराकानीको समेत अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया