जुम्ला – चिसो बढेपछि जुम्लाका ८ वटै स्थानीय तहका सामुदायिक विद्यालय बन्द भएका छन् ।
बढेको अत्यधिक चिसोले पुसको पहिलो हप्तादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।
सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजार लगायत सुर्खेत गएका छन् । जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा ११ कक्षाको अंग्रेजी विषयको ट्युसन पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीले बताए ।
बिदा भएका विद्यालयमा अब आगामी फागुन १ गतेदेखि पढाइ हुनेछ । बिदामा बसेका सबै शिक्षकलाई माघको अन्तिम हप्ताभित्र उपस्थित हुन भनिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
चिसोले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक पनि घर फर्किन थालेका छन् । कतिपय शिक्षकले बजारमा ट्युसन पढाउन थालेका छन् ।




प्रतिक्रिया