होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुकुमबासी बस्तीबाट हटाएर राधास्वामी सत्संग व्यास आश्रममा पुर्‍याइएका ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।

आश्रम (होल्डिङ सेन्टर) मा राखिएका बालबालिकामध्ये ५२ जना आजदेखि वडा नं. १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पढ्न थालेका हुन् ।

सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि उनीहरुलाई विद्यालय पठाउने व्यवस्था गरिएको काठमाण्डु महानगरपालिकाले जानकारी दिएको छ ।

नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा छन्। जहाँ ५२ जना बालबालिका विद्यालय उमेरका छन्।

तीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्रावासमा राखेर पढाउने चाहना राखेका छन्।

अभिभावकको चाहना बुझ्न भराइएको फाराममा ५ जना छात्रा र ६ जना छात्रले छात्रावासमा बस्न अनिच्छा व्यक्त गरेको र अन्य अभिभावकबाट स्पष्ट धारणा आइनसकेको महानगरपालिकाको भनाइ छ।

शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्रावास बस्न इच्छुकहरूमा ११ जना छात्रा र १९ जना छात्र छन्।

काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्।

यसपछि बैठक बसेर हाइयर इन्स्टिच्युसन्स एन्ड सेकेन्डरी स्कुल्स एसोसिएसन (हिसान), प्राइभेट एन्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (एपेन)ले संयुक्त विज्ञप्ति निकाली वास्तविक सुकुमवासीका बालबालिकाको शिक्षालाई निरन्तरता दिन, सहयोग र सहजीकरणका लागि तत्पर रहेको बताएका छन्।