विद्यालय खोल्ने आन्तरिक तयारी सुरू

विद्यालय खोल्ने आन्तरिक तयारी सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् ।

विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको परिस्थितिअनुसार विद्यालय खोल्ने तयारी गर्न विद्यालयलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँका अनुसार सबै विद्यालयलाई खोल्न आग्रह गरिएको छैन, स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण नभएको, स्थानीय स्वास्थ्यकर्मी र शिक्षाविद्सँग आवश्यक परामर्श गरेर मात्र विद्यालय खोल्ने तयारी भइरहेको छ ।

सामाजिक दूरी कायम राख्ने कुरा चुनौतीपूर्ण भए पनि स्वास्थ्य सेवाका अन्य मापदण्ड पूरा गरेर भदौदेखि विद्यालय खोल्न सकिन्छ । विद्यालयमा कक्षा सञ्चालन नभए पनि सबै स्थानीय तहले विद्यालय प्रशासन यसअघिदेखि नै सञ्चालन गरी विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने काम भइसकेको श्रेष्ठले बताउनुभयो ।

नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले स्थानीय तहका विद्यालयमा रहेका क्वारेन्टाइन क्रमशः खाली हुँदै गएकाले परिस्थितिअनुसार विद्यालय खोल्ने आन्तरिक तयारी भएको बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनका रूपमा राखिएका विद्यालयको कक्षाकोठा निर्मलीकरण गर्ने काम भइरहेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।