काठमाण्डु – सांघाई सहयोग संगठन (एससीओ)को २५ औं शिखर सम्मेलन आइतबारबाट चीनको तियानजिन शहरमा सुरु हुँदै छ ।
शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै छन् । प्रधानमन्त्री ओलीले आइतबार नै सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले नेपाल एससीओको ‘डायलग पार्टनर’को रुपमा शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
सम्मेलनलाई चीनका राष्ट्रपति सी चिनफिङले पनि सम्बोधन गर्नेछन् । राष्ट्रप्रमुख परिषद् एससीओको सबैभन्दा उच्चतम निकाय हो र चीनले यो सम्मेलन पाँचौं पटक आयोजना गर्दैछ। सम्मेलनमा आपसी सरोकारका बिषयहरुमा व्यापक छलफल भइ पारित गरिनेछ । संगठन मानव जातिको साझा भविष्य निर्माणमा अघि बढ्ने छ ।\
सम्मेलनमा प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरूले सहभागीता जनाउँदै छन् ।
भ्रमणको अवसरमा प्रधानमन्त्री ओलीले पुटिन, भियतनामका प्रधानमन्त्री, माल्दिभ्सका राष्ट्रपतिलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
सन् १९९६ मा चीन, रुस, काजकिस्तान, कीर्गिस्तान र ताजिकिस्तानबीच ‘सांघाई फाइभ’ नामक क्षेत्रीय समूह बनेको थियो । सन् २००१ मा उज्वेकिस्तानसमेत सामेल भएपछि यसलाई औपचारिक रूपमा सांघाई सहयोग सङ्गठन नाम दिइएको थियो ।
स्थापनाकालमा यसले सीमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद विरोधी संयन्त्र र सैन्य विश्वास निर्माणका उद्देश्य बोकेको थियो । पछिल्ला दुई दशकमा यसको कार्यक्षेत्र विस्तार भई आर्थिक सहकार्य, ऊर्जा साझेदारी, पारवहन सञ्जाल, वातावरणीय स्थायित्व र सांस्कृतिक सम्पर्कसम्म भएको छ । यसका पूर्ण सदस्य, पर्यवेक्षक सदस्य र संवाद साझेदार सदस्य रहेका छन् ।
यसरी अहिले यो २६ देश आबद्ध भएको सबभन्दा ठूलो क्षेत्रीय संगठन बनेको छ । यो संगठन भूगोल र जनसंख्या दुवै हिसाबले बिश्वको ठूलो क्षेत्रीय संगठन हो ।




प्रतिक्रिया