काठमाण्डु- सत्ता गठबन्धनले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट बांडफांड गर्न बनाएको कार्यदको पहिलो बैठक आज बस्दैछ । दलहरुबीचको सिट बांडफांड कसरी गर्ने भन्ने मोडालिटी तयार गर्न उक्त कार्यदलको बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउंसो ३ बजे बस्न लागेको छ । उक्त कार्यदलले साउनभित्र सिट बांडफांडको मोडल प्रस्ताव गर्ने जिम्मेवारी पाएको छ ।
साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा रहेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।




प्रतिक्रिया