सेबोन अध्यक्षको टुंगो सोमबार लाग्ने, भट्ट र आचार्यमध्ये एकलाई ल्याउने तयारी

सेबोन अध्यक्षको टुंगो सोमबार लाग्ने, भट्ट र आचार्यमध्ये एकलाई ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी साता नै बोर्डको नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी गरेका छन्।

सरकारले पुरानै प्रक्रियामार्फत अध्यक्ष नियुक्त गर्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ। यसअघि पुरानो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया अघि बढाउने चर्चा चले पनि अन्ततः हालसम्मको प्रक्रियालाई नै निरन्तरता दिने निष्कर्षमा सरकार पुगेको बताइएको छ। आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोनको नेतृत्व टुंग्याउने तयारी गरिएको छ।

धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले अध्यक्ष पदका लागि गोपाल भट्ट, विनयदेव आचार्य र मुकुन्द क्षेत्रीको नाम सिफारिस गरेको थियो। तीनै जनाको अन्तर्वार्ता समेत सम्पन्न भइसकेको छ।

स्रोतका अनुसार बोर्डको नेतृत्व चयनबारे अर्थमन्त्री वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच समेत छलफल भइरहेको छ।

हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रक्रियासँग सम्बन्धित विवादमा मुकुन्द क्षेत्रीको नाम जोडिएपछि उनी नियुक्तिको प्रतिस्पर्धाबाट लगभग बाहिरिएको स्रोतको दाबी छ। अब गोपाल भट्ट र विनयदेव आचार्यमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्ने तयारी सरकारको रहेको बताइएको छ।

‘धितोपत्र बोर्डकै विषयले विगतमा सरकारसमेत संकटमा परेको थियो। त्यसैले यसपटक योग्य र आर्थिक रूपमा स्वच्छ छवि भएको व्यक्तिलाई नेतृत्वमा ल्याउनेमा अर्थमन्त्री गम्भीर हुनुहुन्छ,’ स्रोतले काठमाण्डुपाटीसँग भन्यो।

धेरै योग्य व्यक्तिहरू आवेदन प्रक्रियामा सहभागी नभएको भन्दै पुनः आवेदन खुला गर्ने विषयमा समेत छलफल भएको थियो। तर अन्ततः हालसम्मको प्रक्रियालाई नै अघि बढाउने निर्णयमा सरकार पुगेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्डसँगै नेपाल बीमा प्राधिकरणको नेतृत्व पनि छिट्टै टुंग्याउने तयारी गरेका छन्।