सचिव सरुवा : विवादितले पाएनन् कामकाजी मन्त्रालय

सचिव सरुवा : विवादितले पाएनन् कामकाजी मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २१ सचिवहरूको सरुवा गर्‍यो । सरुवामा विवादित सचिवहरूले आकर्षक स्थानका लागि जोडबल गरे पनि सरकारले उनीहरूको मागलाई लत्याइदिएको छ ।

खासगरी विवादित बनेका सचिवहरू किरणराज शर्मा, विनोदप्रकाश सिंह, डा. मधु मरासिनी र कृष्णहरि पुस्करले सरुवामा आकर्षक र कामकाजी निकाय पाएनन् ।पुष्करले अहिले प्रधानमन्त्री कार्यालयमा नै बस्न इच्छा गरेको बताइन्छ । उनको ठाउंमा एकनारायण अर्याललाई ल्याएर चांडै पुष्करलाई गृहमा लग्नसक्ने सम्भावना छ । पुष्करलाई अर्थमन्त्री वर्षमान पुन हुंदा अर्थबाट विचमै सरुवा गरेर प्रधानमन्त्री कार्यालय लगिएको थियो ।

गृहमा पुनः फर्किनका लागि महालेखा नियन्त्रक कार्यालयमा सचिव रहेका सिंहले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई रिझाउने प्रयास गरेका थिए । उनको प्रयास पनि सफल भएन । सिंह टेरामक्स प्रकरणमा मुछिएका सचिव हुन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सहसचिव हुँदा टेरामक्सको फाइल अघि बढाउन सिंहको भूमिका रहेको देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसँग बयान नै लिएको छ ।

अमेरिकाको पिआरधारी सचिव शर्मालाई रक्षा मन्त्रालयबाट सरुवा गरेर प्राकृत्तिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ । शर्माले आफै आफूले अमेरिकाको पिआर लिएको र अहिले त्यागेको स्वीकार गरिसकेका छन् । यसै सन्दर्भमा शर्मासँग राष्ट्रिय सतर्कता केन्द्रले पत्रसमेत काटेको थियो । पत्रको जवाफ दिँदै आफूले लिएको अमेरिकाको पिआर त्यागेको भन्दै प्रमाणसहित निवेदनसमेत पेस गरेका थिए । केही समय अगाडि उनले पेस गरेका कागजात सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट रूपमा आएका थिए ।

अर्थसचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । मरासिनी पेमेन्ट गेट वे प्रकरणमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । गत वैशाखमा विशेष अदालतबाट सफाइ पाएपछि उनी पुनः अर्थसचिव भएका थिए ।