पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत शर्त नै सुरक्षा हो : मन्त्री किराती

पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत शर्त नै सुरक्षा हो : मन्त्री किराती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीले देशको आर्थिक विकासको सम्भावनाको क्षेत्र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका निम्ति पहिलो र आधारभूत शर्त नै सुरक्षा भएको बताएका छन् ।

पर्यटनको विकासमा सुरक्षा भएपछि मात्रै सम्रग पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न सकिने समेत उनले चर्चा गरे ।

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शुक्रबार आयोजित ‘४५औं पर्यटक प्रहरी दिवस २०८०’ समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले पर्यटन क्षेत्र तथा पर्यटक प्रहरी कार्यमा विशेष योगदान पुर्‍याउने विभिन्न संघसंस्थाका व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा मन्त्री किरातीले पर्यटकको साथी पर्यटक प्रहरी भएको चर्चा गर्दै पर्यटकको सुरक्षाका साथसाथै देशको कानून अनुसार पर्यटकले गर्ने गतिविधिबारे सचेत गराउन पर्यटक प्रहरीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना गरी आर्थिक विकास गर्दै सुन्दर र समृद्ध समाज निर्माण गर्न सबै आवद्ध सरोकारवाला निकायहरू अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गरे ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटक प्रहरीले विगत लामो समयदेखि देशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको सेवासुविधा र गुनासो व्यवस्थापनको लागि गर्दै आएको कार्य सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा सेवा प्रवाहको स्तर अझ बढाउँदै लैजान यसमा आवद्ध प्रहरी कर्मचारीहरू कृतसंकल्पित रहनुपर्ने बताए । अतिथि देवोः भवःको मन्त्रलाई आत्मसाथ गर्दै उच्च व्यावसायिकता र निष्ठाका साथ आगामी दिनमा समेत नेपाल प्रहरीको मात्र नभई नेपालकै ईज्जत वृद्धि गर्ने लक्ष्यसहित आफ्नो कर्म निदृष्ट गर्न पर्यटक प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूमा उनले विशेष अनुरोध गरे ।

नेपाल सुन्दर मात्र हैन, सुरक्षित पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘हाम्रो उद्देश्य, नेपाल भ्रमणमा पाल्नुहुने कुनै पनि विदेशी पाहुना लगायत आन्तरिक पर्यटनमा रमाउने हाम्रा स्वदेशी नागरिकहरूले कतै नकारात्मक अनुभव गर्न नपरोस् र उहाँहरूलाई आइपर्ने समस्याहरूको व्यावसायिक समाधान होस् भन्ने नै हो ।’

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्ले र होटल व्यवसायी संघ नेपालका अध्यक्ष विनायक शाहले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरे ।

संस्कृति पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित टेबलटेनिस प्रतियोगिताका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई मेडल तथा प्रमाण–पत्र समेत प्रदान गरे ।

कार्यक्रममा पर्यटक प्रहरीको गतिविधि समेटिएको वृत्तचित्र प्रर्दशन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति थियो ।