एसईई परीक्षा सदाका लागि अन्त्य गर्न प्रतिष्ठानको माग

एसईई परीक्षा सदाका लागि अन्त्य गर्न प्रतिष्ठानको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गणेशमान सिंह अध्ययन प्रतिष्ठानले एसईई परीक्षा रद्ध गर्न माग गरेको छ । प्रतिष्ठानले यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयहरुले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन सरकारलाई सुझाव दिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२ तथा सबै विश्वविद्यालयका परीक्षाहरु स्थगित गरेको छ ।

प्रतिष्ठानले अपिल सार्वजनिक गर्दै भनेको छ, ‘एसईई परीक्षा सदाका लागि अन्त्य गरिनु वाञ्छनीय देखिन्छ तर अहिले केही प्रक्रिया अगाडि बढेकाले यस वर्षका लागि सम्बन्धित विद्यालयले नै विद्यार्थीको आजसम्मको मूल्यांकनका आधारमा उत्तीर्ण वा अनुत्तीर्ण भनि प्रमाणपत्र दिनु उचित देखिन्छ ।’

यसैगरी विद्यालयहरुले दिवा खाजामा खर्च गरिराखेको पैसा बालबालिकाका अभिभावकलाई दिने व्यवस्था गर्न पनि प्रतिष्ठानले सुझाव दिएको छ ।

प्रतिष्ठानले भनेको छ, ‘लकडाउनको कारणले बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । यसले एकातर्फ उनीहरुले विद्यालयमा नियमित खाइराखेको दिवा खाजा छुट्न पुगेको छ भने कतिपयको बालबालिकाको कमजोर आर्थिक स्थितिले गर्दा घरमा पोषणयुक्त खानाको अभाव छ । यसले उनीहरुको स्वास्थ्य तथा पोषणको अवस्थामा गम्भीर समस्या पर्न सक्ने देखिन्छ ।अतः लकडाउनको बेलामा बालबालिकाको स्वास्थ्य र पोषणको स्तरमा कमी नआओस् भन्नका लागि विद्यालयले दिवा खाजामा खर्च गरिराखेको पैसा बालबालिकाका अभिभावकलाई दिने व्यवस्था गर्ने ।’