काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिने योजना ल्याउन लागेको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यार्थीहरूलाई रोजगारमूलक दक्षता प्रदान गर्ने गरी यस्तो योजना कार्यान्वयनमा ल्याउन लागेको बताइन् ।
मन्त्री भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी) ले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूका लागि छोटो अवधिका सीपमूलक तालिमको प्याकेजहरू निर्माण गर्ने योजना बनाएको छ । यसले विद्यार्थीहरूलाई प्राविधिक तालिमको अवसर दिनुका साथै उनीहरूको भविष्यलाई उज्ज्वल बनाउन सहयोग पुर्याउने मन्त्री भट्टराईको विश्वास छ ।
सरकारले यस वर्षदेखि करिअर काउन्सिलिङ कार्यक्रम पनि सञ्चालन गरेको बताउँदै उनले यसबाट विद्यार्थीलाई करिअर विकासमा मार्गदर्शन गर्न मद्दत मिल्ने सुनाइन् । मन्त्रालयले एसईई र १२ कक्षाको परीक्षामा एनजी ल्याउने विद्यार्थीहरूको संख्या घटाउन अनलाइन कक्षासहित विभिन्न वैकल्पिक कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताइन् ।
मन्त्री भट्टराईले कर्णाली प्रदेशमा ९ कक्षादेखि १२ कक्षासम्मका प्राविधिक धारका विद्यालयहरूमा निःशुल्क प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् । तर विद्यार्थीहरूको अभावका कारण प्राविधिक शिक्षा कार्यक्रमहरूको प्रभावकारिता सीमित रहेको उनले बताइन् ।
‘प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयमा प्राविधिक शिक्षा अहिले पनि निःशुल्क छ । त्यस्ता विद्यालयमा विद्यार्थी भर्ना प्रतिशत ४० प्रतिशतको हाराहारीमा छ,’ मन्त्री भट्टराईले भनिन्, ‘एकातिर हामी प्राविधिक शिक्षा माग गर्छौं । अर्कोतिर सञ्चालित विद्यालयमा विद्यार्थीको अभाव छ । विद्यालय तहमा रहेको छात्रवृत्ति कार्यक्रमको अतिरिक्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का आंगिक शिक्षा र सम्बन्धन प्राप्त संस्थाहरूमा छात्रवृत्ति कोटा समेत उपलब्ध छ ।’




प्रतिक्रिया