काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाव दिएका छन्।
देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता अहिले नेपाली राजनीतिमा कोही नभएको बताउँदै नेता कोइरालाले सबै नेतासँग संवाद र समन्वय गर्दै देशको समस्याको समाधानतर्फ मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरे ।
उनले देउवालाई सत्ता गठबन्धनबाहेकका दलहरूसँग पनि संवाद गर्न र राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरे।
नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले शनिबार आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘मैले सभापतिलाई तपाईँ कांग्रेसको मात्रै होइन देशैको नेता हो, तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। तपाईँले बोलाएर भेट्नुस् सबै दलका नेतालाई, उहाँ हुँदैन भन्नुहुन्छ। अहिले हाम्रो गठबन्धन एमालेसँग छ। एमालेसित मात्रै भेट्नुपर्छ। जुन बेला माओवादीसित थियो त्यसबेला माओवादीसित मात्रै भेट्नुपर्छ। म त्यो मान्यता राख्दिनँ।’
‘लोकतन्त्रको पर्याय कांग्रेस हो, कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्र होइन, देश नै कमजोर हुन्छ’, उनले भने, ‘त्यसैले कांग्रेसलाई युवाबीच लिएर जानुपर्छ, उनीहरूलाई पार्टीप्रति आकर्षित गराउनुपर्छ।’
उनले पछिल्ला चुनावहरूमा कांग्रेस आफैँभित्रको असहयोग, गुटबन्दी र अहम्का कारण हार्नुपरेको गुनासो गरे । ‘जिवन्त र लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो’, उनले भने, ‘तर प्रतिस्पर्धा अर्का पार्टीसँग हो, पार्टीभित्रको इगोका कारण पार्टीलाई हराउने प्रवृत्तिले कांग्रेसलाई घाटा भएको छ।’
कोइरालाले संगठन बलियो भए पनि मत नझर्ने समस्यालाई गम्भीर रूपमा लिनुपर्ने बताए।




प्रतिक्रिया