राजनीतिमा नयाँ प्रयोग अगाडि आयो : कोइराला

राजनीतिमा नयाँ प्रयोग अगाडि आयो : कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

धारणा सार्वजनिक गर्दै नेता कोइरालाले मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको र राजनीतिमा नयाँ प्रयोग अगाडि आएको उल्लेख गरेका छन् । उनले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन् ।

जेनजी आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको पनि कोइरालाले बताएका छन्।

‘भदौ २३ र २४ गते देशमा जे जस्ता घटनाहरु भए र त्यसको परिणाम स्वरुप जेन जी आन्दोलनको युवा ऊर्जा र चेतनाबाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र विश्वास जितेर काम गर्नेछ भन्नेमा म बिश्वस्त छुु’ कोइरालाले भनेका छन् ।

उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको निन्दा पनि गरेका छन्। विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उनकी पत्नीमाथि भएको हातपातलाई उनले जघन्य अपराधको संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ।’

कांग्रेसको विगतको समीक्षा गर्दै डा. कोइरालाले कांग्रेसले विगतमा केही रणनीतिक भूल गरेको र युवाको भावनालाई बुझ्न नसकेको स्वीकार गरेका छन्। उनले भनेका छन्, ‘हामी समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौँ।’

कोइरालाले पार्टीभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्नेमा जोड दिएका छन्। उनले अब सत्ताको केन्द्रमा को छ वा पार्टीको केन्द्रमा को छ भन्ने विषय गौण भएको बताउँदै ‘जनताको केन्द्रमा बस्ने अभियानमा लाग्नुपर्ने बताएका छन्।

भदौ २४ गते जलाइएको विराटनगरस्थित आफ्नो कोइराला निवासमा भएको क्षतिप्रति उनले भने, कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न।’ उनले जलेको कोइराला निवासको खरानीबाटै नूतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गर्नुपर्ने बताएका छन्।

बीपी कोइरालाको ’नेपाल पक्कै ब्युँझिन्छ जय नेपालको नाराले’ भन्ने दिव्यवाणीलाई स्मरण गर्दै कोइरालाले देशभरि यसलाई बुलन्द गर्न आह्वानसमेत गरेका गरेका छन्।