काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावमा थप छलफल आवश्यक भएको बताएका छन् ।
देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल भएकाले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआएको नेता कोइरालाले बताए ।
शनिबार विराटनगर जेन जीको आन्दोलनमा आगो लगाइएको कोइराला निवासको निरक्षिणपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल गरेर मात्रै महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमाथि थप धारणा राख्ने स्पष्ट पारे ।
शुक्रबार बसेको पार्टीको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन गर्न सकिने विचार राखेका थिए ।
उनले नेतृत्व परिवर्तनको आफ्नो पुरानो अडानमा कायमै रहेको तर अहिलेको प्राथमिकता चुनाव भएकाले पार्टीभित्रको बहसमा भन्दा पनि देशलाई सही बाटोमा ल्याउन केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
नेता कोइरालाले देशको संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको पनि उल्लेख गरे ।
‘संविधानलाई धेरै नचलाइ न्युनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ । त्यो चुनाव हुन्छ भन्ने अपेक्षा लिएका छौं,’ उनले भने ।
साथै, संविधानको धारा ६१ को उपधारा ४ लाई टेकेर राष्ट्रपतिले निर्वाचन घोषणा गरेको र त्यसले संविधान डिरेल हुनबाट जोगिएको उनको भनाइ छ ।
संसद् विघटन संविधान सम्मत नभए पनि देशलाई थप क्षतिबाट जोगाउन यो नै सही विकल्प भएको पनि कोइरालाले बताए ।
संसद् विघटन राष्ट्रपतिको ‘ड्यामेज कन्ट्रोल’ का रूपमा आएको परिस्थितिजन्य निर्णय भएको उनको तर्क छ । ‘सबै कुरा संविधानसम्मत यस्तो बेलामा हुँदैन । यो असंवैधानिक भए पनि, भएको संविधानलाई धेरै नचलाइकन, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ,’ उनले भने ।
कोइरालाले वर्तमान सरकारको एकमात्र दायित्व निष्पक्ष चुनाव गराउनु रहेको र अब देश चुनावकै बाटोबाट ट्र्याकमा ल्याउनु पर्ने बताए । ‘अब चुनाव, चुनाव, चुनाव’ उनले भने ।
जेनजीको मागहरू सम्बोधन गर्ने कुरामा आफूहरूको ध्यान नपुगेको उनले स्वीकार गरे । जेनजी आन्दोलनको उदय हुनुमा राजनीतिक दल र सरकारको कमजोरी रहेको पनि उनले स्वीकार गरे ।
भ्रष्टाचार, कुशासन जस्ता मुद्दामा जेनजीले उठाएका मागलाई समयमै सम्बोधन गर्न नसक्नु राजनीतिक नेतृत्वको कमजोरी भएको उनको भनाइ छ । ‘उनीहरूको मागलाई हामीले आत्मसात गर्न सकेनौँ, विश्वास गरेनौँ । त्यो सरकारको पनि गल्ती भयो,’ उनले भने ।
उनले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । ‘२३ गतेको घटनाको छानबिन बेग्लै र २४ गतेको घटनाको छानबिन बेग्लै हुनुपर्छ । आठ घण्टामा देश ध्वस्त भएको छ, यसको जिम्मेवारी सांसदको हैसियतले मैले र नागरिकको हैसियतले तपाईंहरूले पनि लिनुपर्छ,’ कोइरालाले भने ।
विराटनगरस्थित कोइराला निवासमा भएको आगजनीको प्रसङ्गमा डा. कोइराला भावुक देखिए । उनले उक्त घर आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको पर्यायवाची र ऐतिहासिक धरोहर भएको बताए ।




प्रतिक्रिया