काठमाण्डु – नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे नेता डा. शेखर कोइरालाले आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरूसँग छलफल गरेका छन् ।
काठमाण्डुको विशालबजारस्थित कोइरालाको सचिवालयमा भएको छलफलमा पार्टीभित्र जारी महाधिवेशन विवादबारे समूहका सदस्यहरूको सुझाव लिइएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
शेखर पक्षले छलफल गरेपनि कुनै निष्कर्षमा पुगिनसकेको सहमहामन्त्री परियारले बताए । साथै केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा पनि छलफल भएको छ ।
‘छलफलमा देशको वर्तमान विषम परिस्थितिको समुचित निकास, संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई कसरी सुरक्षित अवतरण गर्ने विषयमा छलप,ल भयो,’ परियारले बताए ।
यसका साथै नजिकिँदै गरेको प्रतिनिधि सभा निर्वाचन तथा पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीलगायत समसामयिक विषयमा पनि छलफल भएको छ ।
छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँसहित ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतले गरेपछि शेखर समूह छलफलमा जुटेको हो । समिति बैठकको निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् ।
महामन्त्री थापाले भने पुसभित्र विशेष महाधिवेशन हुने बताएपछि कांग्रेसमा अन्यौलता छाएको छ । यो अवस्थामा शेखर समूहबिच भएको छलफललाई चासोका साथ हेरिएको छ ।




प्रतिक्रिया