उदयपुरमा सेनाकाे ब्यारेकलाई बनायाे क्वारेन्टाईन


काठमाडाैं – कोभिड –१९ को सम्भावित संक्रमणलाई रोक्न नेपाली सेनाले उदयपुरमा आफ्नाे एक ब्यारेक नै खाली गरेर क्वारेन्टाइन निर्माण गरेको छ । जिल्लाको कटारी नगरपालिका वडा नं १ बेलसोतस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी अन्र्तगत रणशार्दुल गणको क्याम्प खाली गरि क्वारेन्टाइनमा परिवर्तन गरेको हो ।

प्रदेश १ मा सम्भावित कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न प्रदेश १ सरकारले फागुन २९ गते क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेअनुसार नेपाली सेनाको पूर्वीपृतना हेडक्वाटरको निर्देशन अनुसार संक्रमण हुन नदिन न्यूनतम स्वास्थ्य मापदण्ड कायम गर्नेगरी ब्यारेक भित्र रहेका सानाठूला गरी ३४ वटा भवनलाई दुईसय बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएकोे १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

विभिन्न कलष्टरमा विभाजित गरेर महिलाका लागि बेग्लै र पुरुषलाई बेग्लै क्षेत्रमा राख्ने गरी तयारी गरिएको र सो क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन नेपाली सेनाले स्थानीय सरकार र प्रदेश सरकारसँग समेत सहकार्य गरिरहेको सहायक रथी सापकोटाले बताउनुभयो ।

क्वारेन्टाइनमा बेड, झुल, मोबाइल चार्ज, बत्ती, पंखा, शौचालय, खानेपानीलगायतको व्यवस्था गरिएको छ । व्यारेकको गेटमा चिकित्सकसहितको टोलीले आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाईएको सहायक रथी सापकोटाले बताउनुभयो ।

क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सक, ओषधि र क्वारेन्टाईनमा परीक्षणका लागि बस्नेहरुका लागि विहान बेलुकाको खाना नास्ताको बजेट व्यवस्थापनलगायतका अन्य प्रवन्ध मिलाउन प्रदेश सरकारसँग समन्वय गरिने उहाँले बताउनुभयो ।

क्वारेन्टाईन स्थापनाको लागि बेलसोतस्थित सो रणशार्दुल गणको व्यारेकमा रहेका नेपाली सेनालाई बाहिर निकालेर एक किलोमिटर टाढाको वन क्षेत्रको खाली चउरमा तत्कालका लागि अस्थायी टहरा निर्माण गरेर राखिएको रणशार्दुल गण बेलसोत क्याम्पका क्याप्टेन सूर्यबहादुर राईले बताउनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement