उपरथीको पदावधी थप गर्ने सेनाको प्रस्ताव सरकारले रोकेपछि सैनिक मुख्यालयमा हलचल

उपरथीको पदावधी थप गर्ने सेनाको प्रस्ताव सरकारले रोकेपछि सैनिक मुख्यालयमा हलचल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका उपरथी प्रल्हाद थापाको सेवाअवधी थप्ने प्रस्ताव रोकिएको छ । सैनिक मुख्यालयले दुई महिना अघि नै उपरथी थापाको पदावधी थपको लागी प्रस्ताव रक्षामन्त्रालय पठाएपनि सरकारले सेनाको प्रस्तावमा चासो नदेखाएको स्रोतको दाबी छ ।
हाल सेनाको तालिम तथा विनय महानिर्देशनालयका प्रमुख रहेका थापाको सोमबार पनि पदाअवधी थप नभए (भोली) मंगलवारबाट उनले अवकास पाउने निश्चित छ ।

उपरथी थापाको तीन ३ बर्षे पदावधी भोली सकिंदैछ । सैनिक मुख्यालयले दुई वर्षे पदावधी थपका लागी रक्षामन्त्रालय पत्र पठाएपनि मन्त्रालय उनको म्याद थप्ने विषयमा सकरात्मक नबनेको स्रोतको दाबी छ । थापाविरुद्ध प्रधानमन्त्री र रक्षामन्त्रालयमा बहुविवाह गरेको भन्दै बढुवा रोक्न माग गर्दैै आधा दर्जन वेनामी उजुरी परेपछि उनको पदावधी थप रोकिएको स्रोतको दाबी छ ।

सैनिक नियमावलीअनुसार थापाको उमेर बाकि रहेकोले दुई बर्ष थप्न सकिने प्रावधान छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले असार पहिलो साता उपरथी थापाको पदावधी थप २ वर्ष बढाउने गरी रक्षा मन्त्रालय समक्ष गरेको प्रस्ताव पारित नभएपछि सैनिक मुख्यालयमा हलचली मच्चिएको छ ।

मन्त्रालयले प्रधानसेनापतिको सिफारीस रोकेको यो दोस्रो पटक हो । यसअघि पनि नागरिकता र उमेर विवादका कारण रक्षा मन्त्रालयले सैनिक मुख्यालयको प्रस्ताव बदर गरेपछि उपरथी दीपक भारती र सहायक रथी सूर्य खनालले अवकास पाइसकेका छन् । १९ बेसिकका थापाको म्याद थप भए उनि सहजै तीन तारे जर्नेल हुने अवस्था थियो । तर, आज (सोमबार) म्याद थप नभए उनि भोलीबाट नै अवकासमा जाने निश्चित छ ।

स्टाफ कलेजमा सेनाका उपरथी थापा –
प्रधानसेनापति क्षत्री पश्चिम नेपालको भ्रमणमा गएकाले उनको पदावधी थप हुने सम्भावना कम रहेको स्रोतको दाबी छ । थापाले बहुविवाह गरेपनि सैनिक बोर्डबाट उक्त विवाद ३ वर्षअघि नै निरुपण भइसकेको थियो । उपरथी थापाको बढुवा र पदावधी थपको बेला यसअघि पनि बहुविवाहको मुद्दा अगाडी आएको थियो ।

उमेर बाकी रहेको अवस्थामा र कार्यसम्पादन ठिक देखिए प्रधानसेनापतिको सिफारीसमा हरेक सैनिक अधिकृतहरुको पदावधि थप्न सकिने सैनिक ऐन २०६३ को दफा १७ अन्तर्गत अनुसूची ५ मा उल्लेख भएपनि थापाको पदावधी थप गर्ने सेनाको सिफारीस सरकारले रोकेको हो ।

उपरथी थापाको पदावधि थप्ने निर्णय अस्वीकृत भए त्यसको फाइदा अर्का उपरथी शरद गिरीलाई हुनेछ । थापा रथीबाटै घर गए उपरथी गिरी रथी बन्ने लाइनमा आउनेछन् । सेनाभित्रै थापाका समकक्षी समेत उनको पदावधी थप्न नहुने लविङमा लागेको चर्चा समेत सैनिक मुख्यालयमा छ ।