प्रधानसेनापति अमेरीकाबाट फर्केलगत्तै सेनाले बोलायो पृतनापति सम्मेलन, यस्ता छन् सम्मेलनका ऐजेण्डा ?


 रोशन खड्का, काठमाडौं– नेपाली सेनाले पृतनापतिहरुको सम्मेलन बोलाएको छ । सैनिक मुख्यालयले आगामी विहिवार राजधानीमा एक दिने पृतनापतिको सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा आठ वटै पृतनाका पृतनापतिहरुको सहभागीता रहनेछ ।

 

 

 

सैनिक प्रवक्ता सहायकरथी नयनराज दाहालले प्रधानसेनापतिको निर्देशनमा सैनिक मुख्यालयले पृतनापतिहरुको एक दिने सम्मेलन आयोजना गर्ने तयारी भइरहेको बताए । ‘यो हाम्रो नियमित सम्मेलन हो, सम्मेलनमा वर्तमान सुरक्षा चुनौती र भावी रणनितीको बारेमा छलफल हुन्छ ।’ सैनिक प्रवक्ता दाहालले काठमाडौंपाटीसंग भने ।

 

 

 

 

आगामी मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधीसभाको निर्वाचनलाई मध्यनजर गरेर सेनाले पृतनापतिको सम्मेलन बोलाएको हो । सैनिक स्रोतकाअनुसार सम्मेलनमा यसअघि दुई चरणमा सम्पन्न स्थानिय चुनावको समिक्षा हुनुको साथै आगामी मंसिरमा हुन गइरहेको प्रदेश र केन्द्रको चुनावी सुरक्षाको रणनितीबारे छलफल हुनेछ ।

 

 

 

 

सेनामा प्रत्येक वर्ष पृतनापतिको सम्मेलन शिवरात्रीको अवसर पारेर गरिने परम्परा भएपनि यस पटक भने मंसिरमा पृतनापतिको सम्मेलन आयोजना गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

 

 

सरकारले आगामी निर्वाचनमा सेनालाई तेस्रो घेरामा परिचालन गर्ने निर्णय गरीसकेको छ । सेनाले त्यसका साथै अहिले निर्वाचन आयोगलाई मतपत्र छपाईमा समेत सहयोग गरिरहेको छ । सेनालाई चुनावी सुरक्षाको साथै मतपेटिकाको सुरक्षाको जिम्मा समेत दिइएको छ ।

 

 

‘पृतनापतिको सम्मेलन प्रायजसो शिवरात्रीको बेला हुन्छ, तर, सेनापतिले अवस्था हेरेर पृतनापतिको सम्मेलन बोलाउनुहुन्छ ।’ सैनिक प्रवक्ता सहायकरथी दाहालले भने ।

 

 

 

सेनाले चुनावको सुरक्षाको लागी भन्दै आन्तरीक तयारी तिव्र समेत पारेको छ । सेनाले प्रहरी र सशस्त्र प्रहरीलाई चुनावको सुरक्षामा अधिकतम रुपमा परिचालन गर्न मद्दत पुगोस भनेर  कारागार,एयरपोर्ट र भिभिआईपी सुरक्षाको जिम्मा समेत लिने तयारी गरेको छ ।

 

 

 

नेपाली सेनाले बढी सुरक्षा थ्रेट भएको क्षेत्र र संवेदनशिल स्थानमा समेत आफ्नो उपस्थिती बढाएको छ । सेनाले सबै पृतनामा एक–एक वटा हेलिकोप्टर समेत राख्ने तयारी गरेको छ । त्यसका साथै सेनाले प्रत्येक गण,बाहिनी र पृतनामा इमर्जेन्सी फौज पनि तयारी हालतमा राखेको छ ।

 

 

 

 

सेनाले स्थान विशेष मोबाइल सुरक्षा दिने तयारी समेत गरेको छ । त्यसका साथै सेनाले सबै प्रदेशमा बम टिस्पोजलको टोलीलाई समेत तयारी अवस्थामा राखेको छ ।

 

 

 
‘सवै पृतनापतिहरुले आ–आफ्नोे क्षेत्रमा भइरहेको चुनावी सुरक्षाको तयारी र रणनितीको बारेमा सम्मेलनमा जानकारी राख्नुहुन्छ, त्यसपछि ठोस योजना बनाएर सबै पृतनापतिहरु कार्यक्षेत्रमा खट्नुहुन्छ ।’  सैनिक मुख्यालयमा कार्यरत एक जना उपरथीले काठमाडौंपाटीसंग भने ।

 

 

सम्मेलनमा प्रदेश नम्बर १ बाट उपरथी गौरव तण्डुल, २ बाट उपरथी ईश्वर हमाल,  प्रदेश नम्बर ३ बाट उपरथी प्रभुराम शर्मा, प्रदेश नम्बर ४ बाट उपरथी देवेन्द्र मेघासी, प्रदेश नम्बर ५ वाट सहायकरथी विज्ञानदेव पाण्डे, प्रदेश नम्बर ६ बाट उपरथी कर्मेन्द्र लिम्वु, प्रदेश नम्बर ७ वाट सहायकरथी झंकरबहादुर कडायत र उपत्यका पृतनाबाट उपरथी पुर्ण सिलवाल सहभागी हुनेछन् ।

 

 

सम्मेलनको उद्घाटन रक्षासचिव श्रीधर सापकोटाले गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस
Advertisement