पूर्वराजदूत केशव झा हत्या प्रकरण : अनुसन्धान गर्दै जर्मन सेफर्ड म्याक्स


काठमाडौं – फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। अनुसन्धान गरिरहेको प्रहरीले सहयोगका लागि प्रहरी स्कूलबाट दुर्इ कुकुर मगाएर अनुसन्धान गरिरहेको हो। विशेष सुँघ्ने क्षमता भएको म्याक्स नाम गरेको कुकुर घटनास्थलमा प्रवेश गरेर अनुसन्धान गरिरहेको छ।

जर्मन सेफर्ड प्रजातिको म्याक्स सुँघेर अपराधी पत्ता लगाउने क्षमता राख्छ। प्रहरीले दुर्इ कुकुर ल्याए पनि अर्को एउटालार्इ घटनास्थल बाहिरै राखिएको छ। प्रहरीका अनुसार उसलार्इ रिजर्भुमा राखिएको हो। भने उनका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ।

झाका एक छोरा र एक छोरी छन्। छोरा किरणराज आरयल्यान्ड बस्छन्। उनी शनिबार मात्रै फर्किएका थिए। आइतबार राति खाना खाएर बबरमहलस्थित निवासमा सामान्य अवस्थामा सुतेका पूर्वराजदूत झाको ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको थियो। ओलम्पिया स्कूल अगाडिको घरमा झा, श्रीमती र एक कामदारसहित बस्दै आएका थिए।

घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको हो। प्रहरीका अनुसार एउटा झ्यालको जाली काटिएको छ। धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरी भनाइ छ। घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको जनाएको छ। चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement