काठमाण्डु – परराष्ट्र मन्त्रालयको प्रवक्तामा पहिलो महिला भएर सहसचिव सेवा लम्सालले जिम्मेवारी बहन गर्दै आएकी छन् । अब उनै सहसचिव लम्सालको काँधमा मन्त्रालयकै ‘कमाण्ड’ सचिवको जिम्मेवारी पनि आउने देखिएको छ ।
मन्त्रालयका सचिव भरतराज पौड्याललाई सरकारले क्यानडाको राजदूतका लागि सिफारिस गरेको छ । उनले नियुक्तिका सबै प्रक्रिया पूरा गरेर मन्त्रालयबाट बिदा भएपछि सचिवको जिम्मेवारी लम्सालको काँधमा आउन लागेको मन्त्रालय स्रोतले जनाएको छ । यससँगै लम्साल परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव हुनेछिन् ।
‘उहाँले परराष्ट्र सचिव बनेसँगै पहिलो महिला सचिवको रेकर्ड बन्दैछ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘कार्यक्षमता र कुशलताका कारण पनि उहाँ सचिवको जिम्मेवारी पूरा गर्न योग्य हुनुहुन्छ ।’
लम्साल मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख छिन् । उनले पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी पनि सम्हालेकी थिइन् । २०५५ सालमा सामान्य प्रशासन सेवामा प्रवेश गरेकी लम्साल २०६७ सालमा परराष्ट्र सेवामा उपसचिवका रूपमा प्रवेश गरेकी हुन् ।




प्रतिक्रिया