एसएमजी चोरीको आरोप लागेका लबकुमार र सरोजले पाए सफाइ

एसएमजी चोरीको आरोप लागेका लबकुमार र सरोजले पाए सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हतियार चोरीको आरोप लागेका दुई सैनिकले सफाइ पाएका छन् । २०७५ पुसमा नेपाली सेनाको चितवनस्थित गणबाट हराएको हतियार एसएमजी ( सर्ट मेसिन गन) चारी गरेको आरोपमा २८ महिनादेखि कारागारमा रहेका अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई सैनिक विशेष अदालतले शुक्रवार सफाइ दिएको हो । तर संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा चाहिँ दुवैलाई २०७५ चैतबाट लागू हुने गरी ३ वर्षका लागि पदोन्नति रोक्काकाे आदेश दिएको छ ।

पदोन्नती रोक्का गरिएपनि दुवै सैनिक साविककै पदमा पुनर्बहाली भएका छन् । गुरुङ र तामाङले अनाहकमा साढे २ वर्ष जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।

चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो । दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर-२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि  सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो । सैनिक समरी जनरल अदालतले बिहीबार मात्रै गुरुङ हत्यामा संलग्न ढकाललाई जन्मकैदको सजाय सुनाएको थियो ।