नेपाल प्रहरीमा सुधारका संकेत :आईजीपी क्षेत्रीको कार्यकालमा सुखद सुरुआत

नेपाल प्रहरीमा सुधारका संकेत :आईजीपी क्षेत्रीको कार्यकालमा सुखद सुरुआत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री बनेपछि केही महिनामै सुधारका संकेत देखिन थालेका छन् । क्षेत्री गत असार २३ गते आईजीपी नियुक्त भएका थिए ।

प्रहरीमा आकर्षक अवसर मानिने संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति मिसनमा छनौटका लागि हालै नयाँ मापदण्ड बनाइयो । जसले राजनीतिक पहुँच र भनसुनलाई अन्त्य गर्दै ज्येष्ठता र वरिष्ठताका आधारमा मिसन जान पाइने सुनिश्चित गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको ‘यूएन फर्मड पुलिस युनिट (एफपीयू) छनौट मापदण्ड’को छनोटका आधारहरूमा उल्लेख छ, ‘सबै पदमा ज्येष्ठतालाई आधार मानिने छ र ज्येष्ठताको सूची प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा रहेको अभिलेख बमोजिम हुनेछ ।’

यसअघि सशस्त्र प्रहरी बल र नेपाली सेनाले समेत ज्येष्ठता र वरिष्ठतालाई प्रमुख मापदण्ड बनाएर यूएन मिसन छनौट अभ्यास सुरु गरेको थियो । क्षेत्रीले नेपाल प्रहरी संगठनको नेतृत्व गरेपछि लागू भएको नयाँ मापदण्डले देशभरका प्रहरीमा सुखद सञ्चार भएको छ । ज्येष्ठताको मापदण्डले प्रहरी जस्तो व्यावसायिक संगठनमा हुने अनावश्यक भनसुन, राजनीतिक दबाब र प्रभाव केही हदसम्म भएपनि कमी आउने छ ।

प्रहरी प्रधान कार्यालयमा रहेको कर्मचारी प्रशासन शाखाको तथ्यांकका आधारमा भर्ना भएको मिति, बढुवा र कार्यसम्पादन मूल्यांकनका आधारमा ज्येष्ठता र वरिष्ठता निर्धारण गरिनेछ । भनसुन र आर्थिक चलखेलले अब काम नगर्ने भएको छ ।

आईजीपीको फोटो झुण्ड्याउने परम्परा भंग !

प्रहरी प्रधान कार्यालय र देशभरका मातहतका कार्यालय प्रमुखको कार्यकक्षमा आईजीपीको फोटो झुण्ड्याउने परम्परा समेत क्षेत्रीले भंग गरेका छन् । कुनै कानूनी र लिखित परम्परा नभए पनि बहालवाला आईजीपीको फोटो देशभरका कार्यालयमा राख्ने परम्परा रहेको थियो । जसका लागि नयाँ आईजीपी नियुक्त भएपछि फोटोको साइज उल्लेख गरी परिपत्र गर्ने गरिन्थ्यो । तर क्षेत्री आईजीपी नियुक्त भएपछि परिपत्र गरिएन ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत आईजीपीको फोटो राख्न परिपत्र नभएको जानकारी दिए । परिपत्र नगरिएपछि कार्यालय प्रमुखको कार्यकक्षमा आईजीपीको फोटो राख्नु नपर्ने भएको हो । फोटो झुण्ड्याउनुलाई आईजीपीको व्यक्तिगत प्रतिष्ठासँग हेर्ने गरिएपनि यसपालि आईजीपीले नै यसलाई निरन्तरता दिन चासो नदेखाएपछि परम्परा भंग भएको छ ।

आईजीपी क्षेत्रीले आफ्नो सुरक्षामा खटिने पछुवा गाडी नलिने र प्रहरीको वेबसाइट बाहेक कुनै पनि कार्यालयमा आईजीपीको फोटो नराख्ने नीति लिएका प्रहरी मुख्यालयले जनाएको छ । यसलाई सुधारको संकेतको रूपमा लिइएको छ ।

आईजीपी क्षेत्रीले सांगठनिक र व्यावहारिक सुधारका काम गर्नु राम्रो हो । सँगसँगै शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन लगायतका विषयमा समेत सुधार हुनसके क्षेत्रीको नेतृत्व प्रशंसनीय हुनेछ । प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु हुनु, तस्करी र आपराधिक गिरोहसँग प्रहरी कर्मचारीको साँठगाँठ, अनुसन्धान कार्यमा लापरवाही लगायत कारणले प्रहरी संगठन आलोचित हुने गरेको छ । यी विषयमा सुधारका लागि समेत आईजीपी क्षेत्रीले सक्रियता देखाउनुपर्ने जानकारहरू बताउँछन् ।

आईजीपी थापाले २०७९ बैशाख १९ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने भएकाले थुप्रै सुधारका काम गर्न सक्छन् । विगतका जिम्मेवारीमा समेत कुशल र व्यावसायिक शैली प्रदर्शन गर्ने छवि बनाएका क्षेत्रीलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आईजीपी नियुक्त गरेको हो । सरकारले समेत आईजीपी क्षेत्रीबाट सुधारको अपेक्षा गरेको छ ।