काठमाण्डु – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरीत फेरी टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिईरहेका बेला उनको यस्तो धारणा आएको हो । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरि नगर्न सचेत गराए ।
उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पारे । सांसद बस्नेतले भने, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्वीकार्य पनि छ । सडकमा यसको बहस एक हदसम्म स्वीकार्य पनि होला । हरेकले आ-आफ्नो मूल्य र मान्यतालाई स्वीकार गरेर अघि बढलान ।
सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्विकार्य हुन सक्दैन । र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहून । यस्ता कुराहरुलाई सच्याईयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु ।’
सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ-आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भएपनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराए ।




प्रतिक्रिया