वनमन्त्री बस्नेत भन्छन्–राराको सौन्दर्यता बचाइराख्नुपर्छ

वनमन्त्री बस्नेत भन्छन्–राराको सौन्दर्यता बचाइराख्नुपर्छ


सुर्खेत–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुगु रारातालको सौन्दर्यता बचाइराख्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

रारा राष्ट्रिय निकुञ्जको अध्ययन अवलोकन गर्न मुगुको रारा पुगेका उनले प्रकृतिको अनुपम उपहार राराताल कर्णाली मात्र नभएर मुलुककै सम्पत्ति भएको बताए ।

‘रारातालको सौन्दर्यता आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण हो,’ उनले भने, ‘यसलाई बचाउन निकुञ्ज परिवार र स्थानीय सरकार लाग्नुपर्दछ ।’

मन्त्री बस्नेतले निकुञ्जको अवस्था, वन क्षेत्र, सुरक्षा अवस्था र रारातालका व्यवस्थापनका बारेमा निकुञ्जका कर्मचारी तथा सेनासँग जानकारी लिँदै अब सङ्घीय सरकारले निकुञ्ज क्षेत्रका होटललगायत सुरक्षालाई पनि व्यवस्थापन गर्ने बताए ।

होटेलले रु २४ हजार मात्र वार्षिक राजश्व तिर्ने गरेको जनाउँदै उनले त्यहाँ प्रयोग गरिने पालको पैसा अब राष्ट्रिय निकुञ्ज आफैले उठाउनुपर्ने सुझाव दिए । उनले शुक्रबार डोल्पाको से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको पनि निरीक्षण गरेका थिए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको पर्यटकीय महत्वपूर्ण गन्तव्य मानिएको राराताललाई आकर्षण केन्द्र बनाउन प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष २०७५ को शुभारम्भ गरिसकेको बताए।