समृद्धिको शर्तः स्वच्छ वायु, स्वस्थ जीवन-मन्त्री बस्नेत


काठमाडौं—वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बढ्दो शहरीकरणसँगै प्रदूषण बढेकाले समृद्धिको शर्तका रुपमा ‘स्वच्छ वायु, स्वस्थ जीवन’को नारा अघि सारिएको बताएका छन्।

यस वर्षको सप्ताहव्यापी विश्व वातावरण दिवस समापन समारोहमा उनले स्वच्छ वायुमा बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने आवश्यकता औँल्याए। ‘प्रदूषकलाई जिम्मेवार बनाउने संविधानको सिद्धान्तमा ध्यान दिएर अबका कार्यक्रम बन्नुपर्छ, वातावरण संरक्षणलाई अभियानको रुप दिई एकीकृत पहल थालिनुपर्छ, फोहर व्यवस्थापनमा जनसहभागिता बढाइनुपर्छ,’ मन्त्री बस्नेतले भने ।

सांसद शान्तिमाया पाख्रिनले वातावरण सफा र स्वच्छ बनाउन सामूहिक रुपमा लाग्नुपर्ने बताए। हिमाल पग्लने, झरना र मूलका पानी सुक्ने जस्ता वातावरणीय समस्या समाधानका लागि समन्वयात्मक कार्यक्रम जरुरी रहेको उनको भनाइ थियो ।

मन्त्रालयका सचिव विश्वनाथ ओलीले नेपालगञ्जमा सम्पन्न वातावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी गोष्ठीले जारी गरेको १७ बुँदे घोषणापत्रका आधारमा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement