काठमाण्डु–आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ ।
नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरीका साथै काठमाडौँ उपत्यकास्थित मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा, शोभाभगवती लगायत शक्तिपीठमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।
यसैगरी उपत्यका बाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारा लगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
यस्तै बागलुङ नगरपालिका, कालीगण्डकी नदीको दक्षिणी किनारमा अवस्थित बागलुङ कालिका भगवतिको दर्शन गर्नेको घुईचो लागेको छ ।




प्रतिक्रिया