१० दिन अघि ‘डिभोर्स’ गरेकी श्रीमती अर्कैसँग देखेपछि सेनाका अमलदार बुढाथोकीले गरे हत्या

१० दिन अघि ‘डिभोर्स’ गरेकी श्रीमती अर्कैसँग देखेपछि सेनाका अमलदार बुढाथोकीले गरे हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका अमलदार शालिकराम बुढाथोकीले आफूले १० दिन अघि ‘डिभोर्स’ गरेकी श्रीमती अर्कै केटासँग देखेपछि हत्या गरेका छन् ।

ज्वालादल गण बारामा कार्यरत अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले १० दिनअघि आफूले जिल्ला अदालत सल्यानबाट १४ जेठमा ‘डिभोर्स’ गरेकी ३१ वर्षीया टीका रावतको शुक्रबार बिहान खुकुरी प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

बुढाथोकीले तुलसीपुर उपमहानगरपालिका– ६ राप्ती टोलमा डेरा गरी बसेकी रावतको शुक्रबार बिहान ८ः४० बजे डेरानजिककै अर्को घरमा हत्या गरेका प्रहरीले बताएको छ ।

हत्या गरेर हत्या गर्न प्रयोग गरेको खुकुरी लिएरै भाग्दै गरेको अवस्थामा प्रहरीले उच्च अदालत तुलसीपुर नजिकबाट बुढाथोकीलाई पक्राउ गरेको हो । पक्राउपछि प्रारम्भिक बयानमा बुढाथोकीले १० दिन अघि टीकासँग आफूले ‘डिभोर्स’ गरेको बताएका हुन् । प्रहरीका अनुसार उनले अर्कै केटासँग देखिपछि सहन नसकेर खुकुरी प्रहार गरी हत्या गरेको पनि बताएका छन् ।

एक महिनाअघि मात्रै शान्ति मिसनबाट फर्किएका बुढाथोकीले जिल्ला अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए । १४ जेठमा मात्रै अदालतले शालिकराम र टीकाबीच सम्बन्धबिच्छेद भएको फैसला गरेको थियो ।

शुक्रबार बिहान साढे ८ बजेतिर टीका बस्ने कोठामा पुगेका शालिकरामले टीकालाई अर्कै पुरूषसँग देखेपछि दुवै जनामाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

डिएसपी पोखरेलले बुढाथोकीको खुकुरी प्रहारबाट टिकाको कोठामा रहेका २९ वर्षीय आर्यन थापाको टाउको, हात र छातीमा चोट लागेको छ । अछामको कमल बजार नगरपालिका– ४ घर भइ हाल तुलसीपुरको १९ नम्बर बाहिनीमा कार्यरत सेनाका जवान थापा खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

शालिकरामले सुरूमा आर्यनमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्न लागेपछि उनी त्यहाँबाट भागेका थिए । आर्यनमाथि खुकुरी प्रहार भएपछि कोठाबाट भागेर छिमेकीको घरको पहिलो तलामा लुकेकी टिकालाई शालिकरामले फेला पारी घाँटी लगायत शरिरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेर निस्किएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

शालिकराम र टीकाका सात वर्षीय छोरा छन् ।