काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय मुलुकको विकास र समृद्धिको समय भएको बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनको बन्द सत्रलाई बिहीबार काठमाण्डुमा सम्बोधन गर्दै पोखरेलले सुशासन र सेवा प्रवाह विकास र समृद्धिका महत्त्वपूर्ण विषय भएको बताए ।
‘विकास र रूपान्तरणका कामको तीव्रता राज्यको कर्तव्यका रूपमा गर्दछ, निजामती कर्मचारी क्षेत्रले त्यो काममा राज्यलाई सफल बनाउने कि असफल बनाउने भन्ने भूमिका हुन्छ,’ उनले भने ।
अहिले सुशासन, विकास आयोजनाको तीव्रता लगायतका विषयमा प्रश्न उठिरहेको उनले बताए । ‘समग्रताभन्दा राज्य प्रभावकारी भएन भन्ने प्रश्न उठेको छ,’ पोखरेलले भने ।
सरकारले यसलाई सम्बोधन गर्न कानूनी सुधारको काम सुरु गरेको बताए । यसका लागि संरचनागत सुधार पनि त्यतिकै आवश्यक रहेको पोखरेलले प्रष्ट पारे । यस कुरालाई निजामती कर्मचारीले राम्रोसँग बुझेकाले समस्याको समाधान पनि उनीहरूले दिन सक्ने पोखरेलको धारणा छ ।
राजनीतिक स्थायित्वको अभावमा राजनीतिक अस्थिरताको कारण जनतामा निराशा बढ्दै गएको उनले बताए । यसले गर्दा काम गर्ने वातावरण नबनेको गुनासो पनि त्यतिकै आएको पोखरेलले सुनाए ।
मुलुकको आर्थिक अवस्था कमजोर हुँदा पेशाकर्मीले पाउने सुविधा पनि अतिन्यून भएको पोखरेलले बताए । यी सबै समस्याको समाधान मुलुकलाई समृद्धितर्फ लैजाँदा मात्र हुनसक्ने पोखरेलको धारणा छ ।
विकासका रोकिएका कामलाई तीव्रता दिने र राजनीति स्थायित्व दिने उद्देश्यका साथ देशका प्रमुख २ दल अहिले एक ठाउँमा उभिएका पोखरेलले बताए । त्यहीँ अनुसारका काम सरकारले अघि बढाएको उनले बताए । तर जसरी अघि बढ्नुपर्ने हो त्यस अनुसार अघि बढ्न नसकिएको उनले प्रष्ट पारे । ‘अहिले पनि अस्थिरतामा रमाउन चाहनेहरू देशलाई अस्थिरतामा लैजानका लागि प्रधानमन्त्री केपी ओलीमाथि आक्रमण गरिरहेका छन्, नेकपा एमालेविरुद्ध अहिले पनि आक्रमणको अभियान चलिरहेको छ,’ उनले भने ।
पोखरेलले मुलुकलाई सही दिशामा अघि बढाउनु सबैको कर्तव्य भएको बताए । एमालेले बलियो राष्ट्रिय शक्ति बन्नको लागि वडा केन्द्रित अभियान सुरु गरेको पनि उनले जानकारी दिए ।
राजनीतिक दलहरू एक्लाएक्लै चुनाव लड्दा सबैभन्दा ठूलो दलले सरकार बनाउन सक्ने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने स्थिति बन्ने उनले बताए । त्यहीँ तयारीका साथ २०८४ सालको निर्वाचनमा कांग्रेस र एमालेले कसैसँग पनि नमिली चुनाव लड्ने तयारी गरेका पोखरेलको भनाइ छ । ‘आउने निर्वाचनमा हामी एक्लाएक्लै स्वच्छ प्रतिस्पर्धा गर्छौं,’ उनले भने ।
देश बनाउन सक्ने राजनीतिक शक्तिलाई एकल बहुमतसहित सरकारमा पुर्याउनु अबको आवश्यकता रहेको उनले बताए । यसले राष्ट्रको भविष्यलाई उज्यालो बनाउने उनको धारणा छ ।




प्रतिक्रिया