नयाँ पुस्ताले तीनकुनेमा राजतन्त्रको उदण्डता देख्यो : महासचिव पोखरेल

नयाँ पुस्ताले तीनकुनेमा राजतन्त्रको उदण्डता देख्यो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शनमा सोचे जस्तो मानिस नआएपछि हिंसा र उदण्डता देखाइएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा आईतबार काठमाण्डुमा आयोजित रामनवमी तथा चैते दशैं २०८१ को शुभकामनासहित पार्टीको जरा अभियानअन्तर्गत पार्टीको संगठन निर्माण तथा विस्तार विषयक प्रदेश कमिटी, जिल्ला सम्पर्क मञ्च, क्षेत्रीय सम्पर्क मञ्च र पालिका नेतृत्वको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘राजतन्त्रको अमानवीयताको अनुहार देख्न नपाएको नयाँ पुस्ताले तीनकुनेको घटनाबाट राजतन्त्रको उदण्डताको दृश्य देख्ने मौका पायो ।’

गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरूले समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरिरहेका उनले बताए । अहिले कथित राजावादीहरू जुर्मुराएका बताउँदै उनले त्यसको पटाक्ष चैत १५ गतेको सभामा देखिएको बताए ।

सारा जनता जुर्मुराएर आउनेछन् र अन्तर्राष्ट्रिय विमानस्थल तथा संसद् भवन कब्जा गर्न सकिन्छ भनेर राजवादीले चैत १५ गतेको आन्दोलन गरेका पोखरेलले बताए । राजतन्त्रवादीहरू जतिसुकै सल्बलाए पनि गणतान्त्रिक व्यवस्थालाई हल्लाउन नसक्ने उनले बताए । एमालेले काठमाण्डुमा गरेको मोटरसाइकल प्रदर्शनबाट राजावादीहरू हच्किसकेका उनको दाबी छ ।

पूर्वराजा र उनका मतियारको व्यवहारले पुनः एकपटक गणतन्त्रवादीलाई एकठाउँमा आउने वातावरण बनाएको उनले बताए । कहिलेकाहीँ नकारात्मक कुराले पनि सकारात्मक परिणाम दिने उनले स्पष्ट पारे ।

देशको अबको आवश्यकता राजनीतिक ध्रुवीकरण भएको बताउँदै उनले यसबाट बलिया राजनीतिक दल बन्ने बताए । वैचारिक राजनीतिक ध्रुवीकरणले मात्र राजनीतिक स्थायित्व र स्थिरता सम्भव रहेको उनले स्पष्ट पारे । नेकपा एमालेको एकल बहुमत स्थापित गरी मुलुकलाई राजनीतिक स्थायित्व दिने गरी नेकपा एमालेले काम गरिरहेको पोखरेलले बताए ।

पार्टीमा अधिवेशनको बेलामा तँछाडमछाड गर्ने तर अधिवेशन सकिएपछि बैठकमा नै उपस्थिति नहुने प्रवृत्ति मौलाएको उनले बताए । पार्टी र नेताहरू खोजेको बेला भेटिनुपर्ने उनले बताए । ‘भौतिक रूपमा उपस्थित भएर गरिने कामले आत्मीयता बढाउँछ,’ उनले भने ।

जनतासँग जोडिने कुरालाई महत्त्व दिनुपर्ने पोखरेलको धारणा छ । यसले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको योजनामा योगदान गर्ने पोखरेलले बताए ।

आजको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोग पनि त्यतिकै आवश्यक रहेको उनले बताए । आफूले गरेको कामलाई सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्न आवश्यक रहेको उनको धारणा छ । ‘आजभोलि वैचारिक र सांगठनिक कामलाई कोठाभित्र प्रशिक्षण गरेर मात्र हुँदैन, सामाजिक सञ्जालमार्फत पनि प्रस्तुत गर्नुपर्दछ,’ उनले भने ।

नियमित सम्पर्क र संवाद नगर्दा मानीहरू बरालिने भएको बताउँदै पोखरेलले पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकसँग पनि नियमित सम्पर्क र संवादमा रहन आग्रह गरे । सामाजिक सञ्जालको प्रयोगमार्फत पनि नियमित सम्पर्क र संवादमा रहन सकिने उनको धारणा छ ।

युवाबीच पार्टीलाई स्थापित गर्न आवश्यक रहेको बताउँदै पोखरेलले पार्टीले यस वर्षको स्थापना दिवस युवाको बीचमा पार्टी भन्ने मूल नाराका साथ नै मनाउन लागेको जानकारी दिए । राजनीतिक रूपमा जोडिएका, नजोडिएका युवालाई अभियानमा जोड्नुपर्ने उनको भनाइ छ ।

अहिलेको कतिपय मानीहरूले लोकतन्त्रमा गएपछि मुलुक कमजोर भयो भनि गरेको टिप्पणी मनोगत भएको उनको धारणा छ । तथ्यलाई हेरे विश्लेषण गर्ने हो भने राजसंस्थाको बेलामा र त्यसपछिको अवस्था छर्लङ्ग हुने पोखरेलले स्पष्ट पारे । त्यसैले हल्लाको पछाडि होइन, तथ्यमा टेकेर कुरा गर्नुपर्ने भन्दै उनले राजाको पालामा भएको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार लगायतको तुलना सहितको उदाहरण सुनाए ।