शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने षड्यन्त्र भयो : महासचिव पोखरेल

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने षड्यन्त्र भयो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेडमा लैजाने षड्यन्त्र भएको बताएका छन् ।

आईतबार काठमाण्डुमा भएको शिक्षकहरूको प्रदर्शनमा भएको उच्छृंखल गतिविधिप्रति टिप्पणी गर्दै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले दुःखद अवस्था सिर्जना भएको टिप्पणी गरे ।

उनले घटनामा घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्ता समेत सकारात्मक दिशामा अघि बढेका बेलामा आईतबार भएको मुठभेड नियोजित भएको पोखरेलको ठहर छ ।

‘शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षड्यन्त्रका विरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनुपर्छ,’ सामाजिक सञ्जाल फेसबूकमा पोखरेलले लेखे ।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको उनले प्रष्ट पारे । ‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन, दुवै पक्ष गम्भीर ढंगले वार्तामा बसौं र सहमति गरेर मात्र वार्ताबाट उठौं,’ पोखरेलले लेखेका छन् ।