काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको विकासमा निरन्तर नेतृत्व गरिरहेको बताएका छन् ।
अन्तरराष्ट्रिय श्रम दिवसको अवसरमा बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले एमालेले ल्याएको विकासको अवधारणाले नै देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताए ।
एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरीब बीचको खाडल पुरिएको उनले जानकारी दिए । ‘हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौं, नेपाली जनतामा धनी गरीब बीचको खाडल पुर्ने कुरामा हामीले छोटो समयमा ठूलो उपलब्धि प्राप्त गरेका छौं,’ उनले भने ।
नेपालको अर्थतन्त्र विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको उनले बताए । श्रमजीवी वर्गलाई संगठित गर्ने र अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व जिफन्टले गरेको भन्दै उनले धन्यवाद दिए । जति बेला एमाले सरकारमा पुग्छ, त्यतिबेला श्रमजीवी वर्गको हकको पक्षमा कानून र कार्यक्रम ल्याउने गरेको उनले सुनाए ।
एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको पनि पोखरेलले बताए । केपी ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोचभन्दा फरक रहेका उनले दाबी गरे । एमालेको नीति भविष्यको लागि आधारशिला भएको पोखरेलले बताए ।
अहिले पनि देशमा सोचे जस्तो विकास हुन नसकेको उनले बताए । अहिले पनि रोजगारीको लागि युवा विदेश जाने कुरालाई रोकेर देशमामा कृषिजन्य उत्पादनको क्षेत्रमा बढोत्तरी गर्नुपर्ने पोखरेलको धारणा छ ।
पोखरेलले आज प्रतिगामी मण्डलेहरूले परिवर्तनप्रति अनास्था पैदा गर्ने काम गरिहरेका बताउँदै उनले त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्नेमा जोड दिए । स्वतन्त्रलाई समृद्ध लोकतन्त्रको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।




प्रतिक्रिया