काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय भएको बताएका छन् ।
राष्ट्रिय सुरक्षा केन्द्र तथा वैदेशिक अध्ययन केन्द्रको व्यवस्थापन र नेपाल बौद्धिक परिषद्को आयोजनामा शनिबार काठमाण्डुमा भएको ‘सांस्कृतिक कूटनीति: नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सम्पदा क्षेत्रको विकासको लागि जनताको जीवनस्तर उठाउनु मुख्य चिज रहेको बताए ।
‘विकासको जग भनेको जनताको जीवनस्तर उठाउने नै रहेछ, अभाव र गरीबीमा रहेका जनताका बिचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्न सकिँदैन, जीवनस्तर उठाउनको लागि सम्पदाहरूले पनि योगदान गर्दछन्, मुख्य कुरा जीवनस्तर उठाउने कुरासँग जोडिन्छ,’ उनले भने ।
उनले जीवनस्तर उठाउनको लागि नेपालमा सबैभन्दा प्रमुख पक्ष कृषिको रूपान्तरण भएको उनले बताए । नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने उनको धारणा छ । ‘नेपालको समृद्धिको दीगो आधार पर्यटन हो भन्ने कुरालाई बुझेर यसलाई कृषिसँग जोड्नुपर्छ,’ उनले भने ।
उनले कुनै पनि क्षेत्रको विकासको लागि कस्तो रणनीति बनाएर अघि बढिन्छ भन्ने कुरा प्रमुख हुने बताए । त्यो ठाउँको बारेमा बुझेका त्यहीँका मानिसहरूको सक्रियताबाट मात्र विकास सम्भव हुने उनको धारणा छ । ‘कुनै पनि क्षेत्रका विकास गर्दछौं भने हामीले त्यस क्षेत्रका बारेमा बताउन सक्ने जनशक्ति उत्पादन गर्न सक्नु पर्दछ,’ उनले भने ।
पर्यटकहरूलाई घुम्ने र रमाउने वातावरण बनाउनको लागि पनि गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । उनीहरूको बसाइँ लम्याउन सक्दा मात्र पर्यटन र अर्थतन्त्रको विकास गर्ने सक्ने पोखरेलको भनाइ छ ।
राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नुपर्ने उनको धारणा छ । धर्म र संस्कृतिका ज्ञाताहरूलाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने पोखरेलले बताए ।
पछिल्लो समय बुद्ध दर्शनलाई संसारले शान्तिको प्रतिकका रूपमा लिने गरेको उनले बताए । त्यसको नेपालले उपयोग गर्ने सक्ने उनको धारणा छ ।
नेपालमा भविष्यका पर्यटन गन्तव्यको क्षेत्र कर्णाली बन्न सक्ने उनको धारणा छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्ने पोखरेलले बताए ।




प्रतिक्रिया