काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटना मुलुकको भविष्य माथिको प्रहार भएको बताएका छन् ।
नेकपा एमालेको ११औं महाधिवेशनका लागि नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले आजको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताए । एमालेको महाधिवेशनलाई प्रतिगमन विरुद्धको संघर्ष र जनसंघर्षको कार्यक्रमको रूपमा परिभाषित गरे ।
राष्ट्र निर्माणको योजनाकार एमाले भएको बताउँदै उनले देशको राजनीति एमालेको वरिपरि घुमेको बताए । ‘आज राष्ट्रिय राजनीति नेकपा एमाले र केपी ओलीकै वरिपरि घुमिरहेको छ, हामीले उहाँलाई राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने योग्य नेताको रूपमा नेतृत्व प्रदान गर्न खोजेका हौं,’ पोखरेलले भने ।
यतिबेला प्रतिस्पर्धा होइन, पार्टीमा एकता खाँचो रहेको बताउँदै उनले केपी ओलीलाई नेतृत्वमा स्थापित गरेर सबै त्यसमा एकताबद्ध हुन आवश्यक रहेको बताए । आज केपी ओलीमाथि भएको चौतर्फी घेराबन्दी एउटा व्यक्तिको विरुद्धको घेराबन्दी नभई नेकपा एमाले र सिङ्गो देश माथिको घेराबन्दी हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए । केपी ओलीको नेतृत्वमा पार्टी देशको भविष्य सुरक्षित गर्ने काममा लाग्न एमालेका नेताहरूलाई उनले आग्रह गरेका छन् ।




प्रतिक्रिया