काठमाण्डु- एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा बिहीबार असन्तुलित अभिव्यक्ति दिएको टिप्प्णी गरेका छन् ।
बिहीबार बसेको संसद् बैठकमा सामाजिक सञ्जाल विधेयकबारे अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति सुन्दा आफूलाई ६ महिना पहिले प्रधानमन्त्री रहेका दाहाल र अहिलेका प्रतिपक्षी नेता दाहाल एउटै हुन् कि फरक भन्नेमा गम्भीर आशंका उत्पन्न भएको महासचिव पोखरेलले टिप्प्णी गरेका छन् ।
सामाजिक संजाल फेसबूकमा पोखरेलले लेखेका छन्, ‘विगतमा आफू प्रधानमन्त्री भएका बेला दुरुपयोग भयो भनेर टिकटक नै बन्द गर्ने निर्णय गरेका दाहालले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नुजस्तै हो ।’
उनले प्रश्न गरेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग भयो भनेर विभिन्न प्लेटफर्म नै बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने, अनि त्यसलाई सञ्चालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ?’
पोखरेलले दाहालले संसद्मा सत्ता गुमाउँदाको पीडा पोखेको पनि आरोप लगाएका छन् । ‘दाहालले आफ्नै मान्यताविपरीत सामाजिक सञ्जाल नियमनसम्बन्धी संसद्मा दर्ता भएको विचाराधीन विधेयकका सन्दर्भमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? सत्ता गुमाउँदाको छटपटि मात्र कि अरु केही ?’
बिहीबारको संसद्मा दाहालले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोध गरेका थिए ।





प्रतिक्रिया