काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्र नभई सबै नागरिकका लागि खुला सार्वजनिक स्थान भएको टिप्पणी गरेका छन् ।
शनिबार माइतीघर मण्डलामा जेनजी युनाइटेडका सदस्यहरूले प्रदर्शन गर्दा प्रहरीले नियन्त्रणमा लिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
‘माइतीघर मण्डला बालेन, सुधन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल होइन, यो सबैका लागि हो, यसलाई कुनै एक पक्षको सम्पत्ति जस्तो व्यवहार गर्नु कानूनी सिद्धान्तमाथिको उपहास हो,’ उनले लेखेका छन् ।
प्रहरीले अनुमति विना प्रदर्शन गरेको भन्दै जेनजी युनाइटेडका करीब ५० जना सदस्यलाई शनिबार माइतीघरबाट नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि अनुमति नलिई प्रदर्शन गरेको आरोप छ ।
महासचिव पोखरेलले नागरिकले आफ्ना विचार सार्वजनिक रूपमा अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताउँदै कानूनी समानता र अभिव्यक्तिको स्वतन्त्रता सबैका लागि समान हुनुपर्ने धारणा राखेका छन् ।




प्रतिक्रिया