काठमाण्डु – नेकपा एमाले महासचिव शंकर पोखरेलले एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दाबी गरेका छन् ।
नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’को रूपमा मनाउने घोषणा गरे । निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै आगामी वर्ष एमालेका लागि पुनर्जागरण र पुनर्गठन वर्ष’ हुने उनले बताए ।
पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै महासचिव पोखरेलले अब मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने बताए ।
नेकपा एमाले सम्पर्क विशेष सङ्गठन कमिटीद्वारा आयोजित कार्यक्रममा पोखरेलले भने। ‘२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ । हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ, संकल्पलाई आशामा बदल्नेछौँ । ८२ को पीडालाई ८३ को सफलताले धोइपखाली गर्नेछौँ ।’
पोखरेलले एमालेलाई समृद्ध नेपालको आकांक्षा पूरा गर्ने एक मात्र भरपर्दो शक्तिको रूपमा पुनस्र्थापित गर्ने पनि बताए ।
पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको सुशासनको मुकुण्डो उत्रिएको टिप्पणी गरे । सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनको आरोप छ ।
सभामुखको सम्पती विवरणमाथि प्रश्न उठाउँदै उनले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पती कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताए ।
एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको उल्लेख गर्दै पोखरेलले कार्की आयोगलाई प्रतिशोधको हतियार बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको र त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।




प्रतिक्रिया