काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले चुनाव जित्ने पाँच आधार प्रस्तुत गरेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आइतबार काठमाण्डुमा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको प्रचार भेलामा बोल्दै महासचिव पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने भन्दै स्थानीय निर्वाचन जित्ने प्रमुख पाँच आधार प्रस्तुत गरेका हुन् ।
यनका अनुसार अब मुलुकको राजनीति राष्ट्रिय स्वाभिमान राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, विकास, संविधान, सरकार र भविष्यमा केन्द्रीत रहनेछ । ती सबै आधारमा एमाले अब्बल रहेको उनले दावी गरे ।
त्यस्तै उनले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्न समेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाले यो पार्टी पहिलो शक्ति हुने दावी गरे ।
‘पार्टी विभाजित भएपछि ८० प्रतिशत मतदाता एमालेमा आएका छन् । २० प्रतिशत मात्र अरु दलमा गएको प्रष्ट छ । यसबाट एमालेलाई ६० प्रतिशत नाफा भएको छ,’ उनले भने ।
एमाले महासचिवको नजरमा एमालेले चुनाव जित्ने पाँच आधार
राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हित : विपक्षमा हुँदा समेत नेकपा एमालेले नै राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितमा चर्को नारा लगाउने गरेको श्रव्य, दृष्य र छपाईहरु सुरक्षित नै छन् । नारा त अरुले पनि लगाए, तर सत्तामा आउँदा खै के गरे । तर सत्तामा आउँदा काम गर्ने पहिलो नाम केपी शर्मा ओलीको नै आउँछ । नेकपा एमाले नै पहिलो दर्जामा छ ।
भारतको अघोषित नाकाबन्दीका विरुद्ध चट्टान झै उभिएर मुकाविला गर्ने साहास एमाले अध्यक्ष ओलीले नै गर्नुभयो । नाकाबन्दी त तत्कालिन नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा भएको थियो । उनको पालामा नाकाबन्दीलाई सीमा समस्या भनियो ।
उनी डटेर लड्न सकेनन् । तर एमाले अध्यक्ष ओलीको साहास र गरिएको कुटनीतिक कदमले सहजै जित्यो । नेपाल र नेपालीको स्वाभिमान उचो भयो । भौगोलिक अखण्डताका लागि देशको जमिनको रक्षाका लागि केपी ओलीले खेलेको भूमीका सामान्य हैन । नक्सा छाप्न त सकिन्थ्यो । केही हल्का जवाफ फर्काएको सुन्छु ।
तर नाक्सा छापेर निशान छापमा प्रमाणिकरण गर्नु, सर्वसम्मतमा संविधान नै संशोधन गरेर संविधानको अनुसूचीमा लेख्नु दुनियाँको राजनीतिमा विरलै उपलब्धि हो । त्यो पनि नेपाल जस्तो देश जसले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ । कयौ राजनीतिक दल र कयौँ विचारको जनमत हुँदा समेत सर्वसम्मतमा संविधान संशोधन गर्नु त्यो नेपालका लागि मात्र हैन विश्व राजनीतिमा विरलै घटना हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध : छिमेकी र बाह्य मित्रराष्ट्र कोहीसँगपनि चीसोपना नबढाई कसैले नसोचेका उपलब्धि हात पार्नु सामान्य कुरा हुनै सक्दैन । नाकाबन्दीको जवाफ अर्को उत्तरी छिमेकी चीनसँग समेत ब्यापार सम्बन्ध कायम गर्नु, त्यहाँको बन्दरगाह उपभोग गर्न पाउँनेगरी सम्झौता हुँनु, पेट्रोल, विद्युत जस्ता अति आवश्यकीय बस्तु खरिदका लागि सम्झौता गर्नु, विकास साझेदारीका लागि ठूला परियोजना भित्र्याउँनु नेपालका लागि कोषेढुंगा सावित भयो ।
आजको लोडसेडिङ अन्त्य कसैको जादुको छडी हैन । नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको दुरदर्शी निर्णयको परिणाम हो । भारतसँग अन्नरदेशीय ट्रान्समिसन विस्तारको सम्झौता, भारतसँग विद्युत खरिदको सम्झौतापनि एमाले सत्तामा पुगेपछि नै भयो ।
भारतले त्यो अघि सम्झौता गर्न अस्वीकार गर्दै आएको थियो । त्यही भएर त्यसअघि बनेको कयौँ सरकारले काम गर्न सकेको थिएन । तर ओलीको कन्भिन्स गर्न सक्ने क्षमताले आज देश उज्यालो भयो । काम गर्ने ओली तर कुनै एक कर्मचारी जनताको हिरो बनाइयो । त्यसपछि आउने मन्त्री उज्यालोका नायक भनियो । तर तथ्य भूल्नु हुन्न ओलीको दरदर्शी निर्णयका कारण आज नेपाल लोडसेडिङ मुक्त छ ।
स्वदेशमा विद्युत उत्पादन गरेर विदेशमा विजुली बेच्न सक्ने हैसियतमा छ । कुलमान घिसिङ भार व्यवस्थापनमा इमान्दार र कुशल कर्मचारी चै हुन् । तर दुई सय देखि अढाई सय मेघावट विद्युत कर्मचारीको कुशलताले पूर्ति हुन सक्दैन थियो । विद्युत खरिद र अन्तरदेशीय विद्युत खरिदका लागि बनाइएको ट्रान्समिसनले त्यो सुनौलो दिन ल्याएको हो ।
भारतसँग सम्बन्धमा कुनै दखल नगरी नेपाल–भारतबीचको असमान सन्धि पुनरवलोकनको सहासिलो कार्य एमाले नेतृत्वमा भयो । पहिलो पटक एमालेका तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उठाउनुभयो । त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारका वेला विज्ञहरुको टोली गठन भयो ।
८ जनाको दुई देशीय विज्ञ टोलीले नेपालको पक्षमा प्रतिवेदन दियो । त्यो कार्यन्वयन रोकिएको छ । आशा छ त्यो चाँडै कार्यन्वयनमा आउँने छ । दुई देशबीच भएको समझदारीबाट बनेको प्रतिवेदन भारतले बुझ्न मानेको छैन । त्यो बुझेर कार्यन्वयन गर्नुपर्ने छिमेकी भारतको बाध्यता हो त्यसमा एमालेले अझै थप काम गर्नेछ ।
मधेसमा डुवानको समस्या थियो । भारतले बनाएका एकपक्षीय संरचनाका कारण नेपालको तराई कयौँ बर्ष अघिदेखि डुविरहेको सबैलाई थाहा थियो । कोही चुइक्क बोल्न सकेनन् । तर ओली प्रधानमन्त्री बनेपछि भ्रमणकै बेला सभ्य भाषामा भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यू नेपालका जनता भारत बिरोधी हुनुको कारण डुवानपनि एक हो ।
यसलाई हल गरौँ । डुवान सम्वन्धमा कहाँ–कहाँ समस्या भन्ने दुई देशबीचको टोली गठन भयो । टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले संरचना हटाउने कार्य गर्ने थियो । तर एमाले नेतृत्वको सरकार हटाइयो । अब आएर फेरी बाँकी काम गर्छ । यता उत्तरको छिमेकी चीनसँगपनि इतिहासकै राम्रो सम्बन्ध छ । चीनले बन्दरगाहा प्रयोग गर्न नेपाललाई दिने सम्झौता गरेको छ । अब नेपालले कुनै एक देशले चाहेमापनि कहिलै नाकाबन्दीको समस्या भोग्नुपर्ने छैन ।
सरकार : बुर्जुवा विचार बोकेको पार्टीले कसरी सरकार चलाउँछ । नेपाली कांग्रेसको शासनकालमा आम नागरिकले देख्नुभएको नै छ । तर हामी जनताको बहुदलीय जनवाद (जवज) बाट निर्दिष्टहरु सामाजिक न्यायको पक्षमा छौ भन्ने हाम्रो नेतृत्वको सरकारका कामले नै देखाएको छ । समाजवादको बाटो चाँडै आउँछ भन्ने दिशा एमालेले दिइसकेको छ ।
एमालेले नै सुरु गरेको वृद्ध भत्ता आज एक जना वृद्धले जिविको चलाउन सक्ने रकम बनेको छ । सरकारी कर्मचारीले मात्र पेन्सन पाउने अवस्थालाई चिर्दै नीजि क्षेत्रका रोजगारदाता र श्रमिकले समेत योगदानमा आधारित कोषबाट पेन्सन पाउँने व्यवस्था गरियो । धनी र हुनेबाट प्रमियम संकलन गरेर असाहाय, बृद्ध र निश्चित समूहलाई सरकारले नै प्रिमियम बुझाईदिने गरी स्वास्थ्य वीमा कार्यक्रम सुरु गरियो । आज बृद्धले एउटा वीमा कार्ड मात्र बोकेर अस्पताल गए । औषधी र उपचार मात्र हैन शल्यक्रिया समेत निशुल्क हुन्छ ।
विकास सम्बन्धमा : राजनीतिक लडाई विभिन्न क्रान्तिबाट भए । अब विकासमा क्रान्ति ल्याउँनुपर्छ भनेर विकास र संवृद्धिको जग नै केपी ओलीले बसाउनु भयो । पहिलो पटक प्रधानमन्त्री बन्दा जनताका मुर्छित योजनालाई देखाइदिनुभयो । दोस्रो पटक प्रधानमन्त्री बन्दा विकासको नमुना नै देखाउँनुभयो ।
आज पालिका–पालिका जोड्ने सडक पक्कि हुँदैछन् । तराईका सहरमा सडक चौडा भएका छन् । शानदार सरकारी भवनहरु बनेका छन् । कल्पना नै गर्न नसक्नेगरी दैनिक सडक कालोपत्रे भएको छ । रेल, इन्धन पाइपलाईन, सुरुङ्ग, भत्किएका संरचना पुर्ननिर्माण, खानी उत्खनन, उद्योग स्थापना, रोजगारीको सृजना सबै तर्फ हेर्दा जो कोहीले देख्नेगरी काम भएको छ ।
संविधान : संविधान जारी गर्न नदिन अनेकौँ षड्यन्त्र भएका थिए । छिमेकीले नै आजै संविधान जारी गर्ने कुरा रोक्नुस् भन्ने सन्देश पठाएका खबर अहिलेपनि खोज्दा भेटिन्छन् । तर एमाले एक इन्च पछि सरेन, सहमति गर्न एमाले अगुवा बन्यो । सहमतिमा संविधान एमालेकै बलमा जारी भयो । संविधान जारीपछि घृणाको राजनीति सुरु भएको थियो । संविधानप्रति मधेस केन्द्रीत दल असन्तुष्ट थिए । तर एमालेले सहकार्यको राजनीतिको उदाहरण देखाईदियो । देशको चिन्ता गर्ने नेताले मात्र त्यो गर्न सक्छ । कम्युनिस्टको बहुमत भएपनि मधेसवादी ल्याएर सरकार एमालेले बनायो ।
मधेस केन्द्रीत दलहरुमापनि उपेन्द्र यादव र महन्थ ठाकुर समूहमा जनमत विभाजित थियो । सुरुमा नै उपेन्द्र यादव नेतृत्वलाई सरकारमा समावेश गराएर संविधान स्वीकार गर्ने एमालेले बनायो । महन्थ समूहका मागपनि सम्वोधन गरेर संविधान सर्वमान्य एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाउनुभयो । नेत्र विक्रम चन्द विप्लव समूह र डाक्टर सिके राउत जस्ता तत्कालका लागि समस्या हुने हुन् की भन्ने रुपमा बुझिएका शक्तिलाई मुलधारको राजनीतिमा ल्याउनुभयो । देशका सबै समस्या हल भए राजनीतिक सहमतिमा बनेको नेपालको संविधान सर्वमान्य, सर्वस्वीकार्य बनाउने काम एमाले अध्यक्ष ओली कै नेतृत्वमा भयो ।
भविष्य : अबपनि नेपालको भविष्य यही हुन्न । देशको विकास गर्नका लागि यो व्यवस्थाले सम्भव हुन्न । राजनीतिक स्थायीत्व नभएसम्म विकास हुन्न । राजनीतिक स्थायीत्वका लागि देशमा दुई मात्र विचारधाराका राजनीतिक दल अस्तित्वमा हुन जरुरी छ । नेपाली राजनीतिको ध्रुबिकरण गर्न अब एमाले मात्र सक्षम छ । दुई विचार वा पार्टी मात्र बनाउन एमालेले मात्र गर्न सक्छ । बुर्जुवाहरु कांग्रेसतर्फ खुम्चिन्छन् । बामपन्थीहरु सबै एमालेतर्फ आउँछन् । चुनावपछि नै यो हुन्छ । चुनावको नियम नै हो । आफ्नै दृष्टिकोण र राजनीतिक दिशा नभएका पार्टीहरु विघटनतर्फ जान्छन् ।
त्यसका नेता कार्यकर्ताहरु आफ्नो विचार मिल्ने पार्टीमा समाहित हुन्छन् । अहिले आफ्नै दिशा भएको बामपन्थी एमाले मात्र हो । यसैले नेकपा माओवादी केन्द्र, नेकपा, माओवादी, नेकपा एस, वैद्य माओवादी, विप्लव माओवादी जे–जे नाममा दल वा बामपन्थी समूह भएपनि यो चुनावपछि सबै शक्ति एमालेमा समाहित हुन्छन् ।
सम्मानपूर्व सबैलाई स्वागत गर्ने तरिका र नीति एमालेमा मात्र छ । तर प्रचण्ड र माधव नेपालहरु भने देउवासँगै हुन्छन् । उनीहरुसँग रहेका नेता र कार्यकर्ता विना सर्त सबै एमालेमा आउँछन् । एउटा सानो बुर्जुवा शक्तिको रुपमा नेपाली कांग्रेस हुन्छ । दुई तिहाई जनमत सहितको विशाल राजनीतिक बामपन्थी शक्ति नेकपा एमालेको नाममा सुसंगठित हुनेछ । त्यो बेलासम्म यो देश नेपाल विश्वको एक सुन्दर टुक्राको रुपमा विश्वभरी नाम लिएर पुकार्न थालिन्छ ।




प्रतिक्रिया