काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नुमा प्रधानमन्त्रीको पनि हात रहेको आशंका उत्पन्न भएको बताएका छन् ।
प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले करको दायरामा अनधिकृत व्यक्तिको हस्तक्षेपको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको बताएका हुन् ।
उनले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको समेत औंल्याए ।
‘अनधिकृत व्यक्ति ल्याएर करको दायरा किन परिवर्तन गरियो ? यसमा प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ, कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन्’, उनले भने ।
गठबन्धन सरकार पूर्णरूपमा असफल भएको पोखरेलको भनाइ छ । ‘एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको छ । अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ,’ उनले भने ।
मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको उनले दावी गरे । नेता पोखरेलले नेकपा एस र माओवादीलाई लक्षित गर्दै नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर गरे ।
स्थानीय तहको निर्वाचनमा पूर्णरूपमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलको भएपनि त्यो असफल भएको उनले बताए । आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने पोखरेलको विश्वास छ ।




प्रतिक्रिया