मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्न एमाले-कांग्रेस मिले : महासचिव पोखरेल

मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्न एमाले-कांग्रेस मिले : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्न नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् । ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सामाजिक सेवा विभागको १० औँ बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको बताए ।

उनले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताए । देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणामा पनि ध्यान दिनुपर्ने पोखरेलले बताए ।

उनले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने र समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपने बताए । “बङ्गलादेश दक्षिण एसियामै नमुना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावनाबमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ”, उनले भने ।

उनले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिए ।

एमालेका उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यले समाजमा देखिएका समस्या समाधान गर्न एमाले अग्रसर हुनुपर्ने बताइन् ।

सो अवसरमा निवर्तमान विभाग प्रमुख झपट बोहोराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हाल्नुभएका कल्पना चापागाईंलाई स्वागत गरिएको थियो ।