प्रचण्डको पार्टी कब्जा गर्ने मनसायले नेकपा विभाजित भयोः शंकर पोखरेर

प्रचण्डको पार्टी कब्जा गर्ने मनसायले नेकपा विभाजित भयोः शंकर पोखरेर


काठमाण्डु – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टी कब्जा गर्ने मनसायका कारण नेकपा विभाजित भएको दावी गरेका छन् ।

बुटवलमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रचण्डले सचिवालयमा दर्ता गरेको आरोपपत्र पार्टी कब्जा गर्ने, अध्यक्ष तथा प्रधानमन्त्रीलाई कारबाही गर्ने उद्देश्यसहित आएको हुँदा त्यसलाई रोक्न आफूहरुले प्रयास गर्दा त्यसको वास्ता नगरिएको बताउँदै नेकपा विभाजनको मुख्य कारक अध्यक्ष प्रचण्ड नै भएको दाबी गरेका हुन् ।

‘अहिलेको परिस्थितिको मुख्य जिम्मेवार प्रचण्ड हो, उहाँले प्रथम अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपपत्र नै अहिलेको संकटको आधार हो,’ उनले भने, ‘प्रथम अध्यक्षमाथि कम्युनिष्ट, गणतन्त्रवादी, संघीयतावादी र समाजवादी केहि पनि होइन भनेर दस्तावेज प्रस्तुत गरेका कारण यो स्थिति आयो ।’

‘निषेधको उद्देश्यले आरोपपत्र ल्याएको हुँदा ओलीले त्यस्ता आरोपमा छलफल नबस्ने भएपछि हामीले अब दुवै प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाउँ भनेर हामीले भन्यौं,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रस्ताव फिर्ता लिएर अब पार्टी कसरी सञ्चालन गर्ने भनी हामीले खाका बनाउन सक्छौं भन्यौं तर उहाँ (प्रचण्ड)तयार हुनुभएन ।’

कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग मिलेर पार्टीलाई अघि बढाउनुपर्नेमा पूर्वएमालेसँगको अन्तरविरोधमा खेल्न खोज्नु अहिलेको संकटको अर्को कारण भएको उनको तर्क थियो ।