काठमाण्डु – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् । विपक्षी गठबन्धनले बैधाननिकतामाथि प्रश्न उठाएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्रीले छिटै प्रदेशसभाबाट विश्वासको मत लिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । जनता समाजवादी पाटी (जसपा)को विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएको छ ।
उनले आयोगले जसपालाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेशमा तत्काल फरक नपार्ने बताए । संघीयतामा प्रदेशले फरक संरचना पनि बनाउन सक्ने भएकाले जसपा केन्द्रीय संरचना वा प्रदेश प्रमुख फेरबदलले सरकारलाई खासै असर नगर्ने उनको भनाई छ ।
यता विपक्षी गठबन्धनको ध्यान प्रदेश प्रमुख धर्मनाथ यादवलाई बिस्थापित गर्नेतिर गएको छ । उनलाई बिस्थापित नगरी मुख्यमन्त्री पोखरेलले सत्ता नछोड्ने देखेपछि विपक्षी गठबन्धनकाे ध्यान प्रदेश प्रमुखतिर तानिएकाे हाे । विपक्षी नेताहरुले काठमाण्डु पुगेर प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका नेता उपेन्द्र यादवलगायतका नेतालाई भेटघाट गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी गराएका छन् ।
प्रदेश प्रमुख परिवर्तन गरेपछि विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र प्रदेशसभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसँग आग्रह गर्ने रणनीति बनाएका छन् ।
पटक–पटक संसदमा बिश्वासको मत लिन आनाकानी गरेका मुख्यमन्त्री पोखरेललाई विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पारित गरेर लोकतान्त्रिक विधिबाटै मुख्यमन्त्रीबाट हटाउने तयारी भएको छ ।
हाल ८३ सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४२ जना विपक्षी गठबन्धनमा छन् । सत्ता पक्षमा एमालेका ३८ र जसपाका तीन गरी ४१ जना सांसद रहेका छन् ।




प्रतिक्रिया