काठमाण्डु – नेकपा एमालेले आफ्ना माग सम्बोधन नभएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । एमालेका महासचिव शंकर पोखरेलले एमालेबाट अलग भएका १४ सांसद बर्खास्त नगरेसम्म लगातार संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएका हुन् ।
‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौँ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
एमालेले सभामुखलाई बर्खास्त गरे एमसीसी पास गर्ने शर्त अघि सारेको भन्ने समाचार आएपछि महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो । भदौ २३ गतेबाट सुरु प्रतिनिधिसभाको नवौं अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका पटक–पटक स्थगित भएको छ ।
भदौ १ गते एमालेले आफ्ना १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले एमालेले गरेको कारबाहीको सूचना टाँस नगरेरसमय बिताइदिएका थिए । सभामुखले आफ्नो कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सभामुख सापकोटाविरुद्ध आक्रोशित छ ।
एमालेले निष्कासन गर्ने निर्णय गरेकामध्ये माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेका छन् । त्यसविरुद्ध एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । एमालेले सभामुखको निष्पक्षतामै प्रश्न उठाएर उनको राजीनामा माग्दै संघीय संसदको दुबै सदन अवरोध गर्दै आइरहेको छ ।




प्रतिक्रिया