काठमाण्डु – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले पुरानो सरकारले नियुक्त गरेका विभिन्न देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको चर्चा बिहीबार बिहानैदेखि सुरु भइसकेको थियो, साँझ बसेको मन्त्रिपरिषद् बैठकले चर्चा भएझै ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्यो ।
पुराना राजनीतिक दल र तत्कालीन नेताहरू नजिक रहेर लाभको पद प्राप्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी भइरहँदा त्यसमा भारतका लागि नेपाली राजदूत शंकर शर्माको नाम पनि थियो तर मन्त्रिपरिषद् बैठकबाट निर्णय हुँदा उनी फिर्ता हुने राजदूतको सूचीमा परेनन् । उनी भारतका लागि नेपाली राजदूतको पद जोगाउन सफल भए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा निकट रहेका शर्मा वर्तमान प्रधानमन्त्री सुशीला कार्की निकट पनि बने, जसले उनको राजदूत पद जोगाइदियो । कांग्रेसनिकट स्रोतका अनुसार शर्माका छोरा डा. आरजुका स्वकीय सचिव छन् ।
कांग्रेस सत्तामा हुँदा शर्माले थुप्रै लाभका पदमा अवसर पाएका छन् । सन् २००९–२०१४ सम्म उनी अमेरिकाका लागि नेपाली राजदूत थिए । त्यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।
अमेरिकाबाट फर्केपछि उनी पहिलोपटक सन् २०२२ मार्चमा भारतका लागि नेपाली राजदूत बनेका थिए । तर २०२४ जुलाइमा उनीसहित केही राजदूतलाई फिर्ता बोलाउने निर्णय तत्कालीन सरकारले गर्यो ।
यसै सिलसिलामा उनी दोस्रोपटक सन् २०२४ डिसेम्बरमा भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए । त्यसयता दिल्लीमै रहेका उनी पनि बिहीबार फिर्ता बोलाइने चर्चा चलेपछि उनले वर्तमान सरकार निकटका व्यक्तिसँग पहुँच बढाएर राजदूत पद जोगाउन सफल भएका छन् ।
उनलाई फिर्ता नगरेको सरकारले चीन, अमेरिका, जापान, इजरायल लगायत ११ देशका लागि कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाएको छ । फिर्ता बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् ।




प्रतिक्रिया