काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीमा खर्चका वारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो रुपमा देखा परेको बताएका छन् । उनले यस्ता अविश्वासले परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको बताएका छन् ।
‘हो खर्च पारदर्शी र विधिसम्मत हुनु पर्दछ । त्यसमा कुनै छुट हुन सक्तैन । संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन । त्यसैले खर्च गर्नेहरु जिम्मेवार बन्ने र वाचडगको भुमिकामा रहेकाहरुले धैर्य गर्ने समय हो यो’, उनले भनेका छन् ।
खर्चको विवरण सार्वजनिकको माग गर्दै देशभर आन्दोलन उठान हुन लागेको बेला मुख्यमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो ।
उनले अहिले जति खर्च भएको छ त्यो संकटको सापेक्षतामा निकै कम भएको बताएका छन् । सार्वजनिक भएको हिसाव पनि मोटामोटी अनुमान भएको र कोरोना परीक्षण र उपचारमा खर्चहुने समय वल्ल सुरु भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘यतिवेला सरकारले अझै ठुलो खरिद गरेर थप तयारी गर्नुपर्ने छ । अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले खर्चको व्यवस्थापन गरेका छन् । खर्च राज्यका स्थायी संरचनावाट हुने हो । वास्तविक खर्च त भुक्तानी भएसंगै सरकारी लेखामा देखिने नै छ । उपचार र परीक्षणमा संलग्नले पाउनुपर्ने जोखिम भत्ता सायद अहिले नै पाइसकेको अवस्था छैन । पछि त्यो जोडिदा अहिलेको खर्च बढ्न पनि सक्छ ।’
अहिले नै खर्च वढि भयो भनेर अविश्वास गर्ने अनि एकघर एक पिसिआर परीक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषपूर्ण भएको उनले बताएका छन् । एक घर एक पिसिआर परीक्षण गर्दा परीक्षणमा मात्रै न्युनतम् ५० देखि ६० अर्ब खर्च लाग्न सक्ने उनको भनाइ छ । अनि रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य हामीसंग छ र ? भन्ने प्रश्न उठाएका छन् । उनले असम्भव र अव्यवहारिक कुरा गर्नु नहुने औंल्याएका छन् ।
‘खर्चको पारदर्शीताका नाममा उठाइएका यस्ता मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको छ । परीक्षण र उपचारमा प्रतिकुल असर पुर्याइरहेको छ । हो सम्भव भएसम्म परीक्षणको दायरा वढाउनु पर्छ । प्रदेश सरकारहरुले पनि प्रयास गरिरहेकै छन् । तर विरोध र असहमतीको यो तरिकाले त्यसमा सहयोग पुर्याउदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी,’ उनले लेखेका छन् ।
यतिवेला सचेत पंक्तिले तथ्यको जगमा उभिएर विश्लेषण गर्नु पर्ने उनको भनाइ छ । ‘हामी भन्दा शक्तिशाली देशहरुले हामीले चाहेजस्तो मात्रै होइन हामिले गरेजस्तो पनि गर्न किन सकिरहेका छैनन् ? नचाहेर वा गैरजिम्मेवार भएर त होइन होला । त्यसैले यो समय कसैलाई देखाइदिने र लकडाउनको उकुसमुकुसमा रमाइलो गर्ने समय होइन,’ उनले प्रश्न गरेका छन्, ‘यो समय सबै जिम्मेवार भएर कोरोना विरुद्ध मिलेर संघर्ष गर्ने समय हो । कोरोनाको सबैभन्दा ठुलो उपचार रोग लाग्न नदिनु नै हो । जसले वाहिरी मानिससंगको भेटघाटमा एक मिटरभन्दा वढिको दुरी निरन्तर कायम गर्नसक्छ उ सुरक्षित हुन्छ । घर वाहिर जानुपर्दा मास्क अनिवार्य लगाउने, सार्वजनिक ठाउमा हातले नछुने, छुनुपरेमा सेनिटाइजर गर्नु वा सावुनपानीले मिचिमिचि हातधुनु आवश्यक छ । यतिवेला सबैले जारीभएका स्वास्थ निर्देशनलाई अनिवार्य पालना गर्नसक्दा कोरोना विरुद्धको लडाइ लड्न धेरै सजिलो हुनेछ । सचेत पंक्ति सुरक्षित रह्यो भने विरामीका लागि परिक्षण र उपचार अहिलेकै अवस्थामा पनि सहज हुनेछ । एक जना सकृय व्यक्ति संक्रमित हुनु भनेको औसतमा २०देखि २५ जनासम्मको थप परिक्षण गराउने अवस्था सिर्जना गर्नु हो । थप खर्च वढाउनु हो ।’




प्रतिक्रिया