काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका विपक्षी गठबन्धनले आरोप लगाएको छ ।
मुख्यमन्त्री पोखरेलले आफूसँग बहुमत रहेको दाबी गर्दैगर्दा विपक्षी गठबन्धनले भने आफूहरुसँग ४३ जना सांसद रहेको बताएको छ ।
माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले संसदमा आफूहरुसँग बहुमत रहेकाले मुख्यमन्त्रीको दाबी झुटो साबित भएको बताएका छन् ।
‘बहुमत हामीसँग छ । किनभने कूल ८१ जना सांसदमध्ये ४३ जना हामीसँग हुनुुहन्छ । उहाँ(मुख्यमन्त्री)सँग ३७ जना मात्रै हुनुहुन्छ’, उनले भने ।
विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पोखरेललाई मुख्यमन्त्री स्वीकार नगर्ने बताएका छन् । उनीहरुले पोखरेलको पुनः नियुक्ती बदर गर्न कानूनी लडाई लड्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा पोखरेललाई पुनः नियुक्त गर्नु असंवैधानिक कदम भएको बताउँदै उनले राजनीतिक र कानूनी लडाई लड्ने बताए ।
‘पोखरेलको नियुक्ती असंवैधानिक र अलोकतान्त्रिक कदम हो । यसको तुरुन्तै खारेजीको माग गरेका छौं साथै राजनीतिक र कानूनी लडाई लड्ने निर्णय गरेका छौं । उहाँलाई मुख्यमन्त्री स्वीकारर्दैनौं’, सांसद खड्काले भने ।
आइतबार बिहान राजीनामा दिएका मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले साँझ पुनः मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथग्रहण गराएका थिए ।
उनले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले पुनः नियुक्ती गरेका हुन् । तर, विपक्षीहरुले मुख्यमन्त्री पोखरेलले बहुमत गुमाइसकेको आरोप लगाएका छन् ।




प्रतिक्रिया