काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संकटमा परेका छन् । जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्री सरकारमा सहभागी भएकामा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेल फेरि अल्पमतमा परेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले लुम्बिनी प्रदेशका आफ्ना सांसदहरुलाई पार्टीमा फर्काउन कसरत गरिरहेको छ । पूर्वमन्त्री समेत रहेका जसपाका नेता मोहम्मद इस्तियाक राईले उनीहरुलाई पार्टीमा फर्काउनका लागी छलफल सुरु गरेका थिए त्यसलगतै जसपाबाट सरकारमा सहभागि राज्यमन्त्री रायमाझीले राजीनामा दिएकी हुन् ।
राज्यमन्त्रीको राजीनामापछि मुख्यमन्त्री पोखरेल पुनः अल्पमतमा परेका हुन् । मुख्यमन्त्री अल्पमतमा परेसंगै नेकपा एमाले सरकार जोगाउने कसरतमा जुटेको छ । नेपाली कांग्रेसलगायतको गठबन्धन नयाँ सरकार बनाउने गृहकार्यमा छ । संविधानको धारा १ सय ६८ को उपदफा १ अनुसार नियुक्त भएर उपदफा २ अनुसारको सरकारको नेतृत्व गरेको र विश्वासको मत नलिएकाले विपक्षी गठबन्धनले पोखरेल नेतृत्वको सरकार अवैधानिक भन्दै आएका छन् ।
विपक्षी गठबन्धनका नेताहरुले मुख्यमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठाएका छन् । ‘मुख्यमन्त्रीज्यूले बारम्बार एउटा शब्द के दोहोर्याउन हुन्थ्यो भने अल्पमतमा परेको एक मिनेट पनि म सरकारमा बस्दिनँ भन्ने किसिमको अभिव्यक्तिहरु उहाँले रोष्टमबाट पनि भनिरहनुभएको हो’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँन भन्छन्, ‘अब हाम्रो नेपाली कांग्रेसको र विपक्षी गठबन्धनको माग के हो भने एक जना राज्यमन्त्रीको राजीनामापछि सरकारले बहुमत गुमाइसक्यो अब प्रस्ट देखिनेगरी सरकार अल्पमतमा आइसक्यो त्यसैले बहुमत गुमाइसकेको सरकारले शासन गर्ने वैधता पनि गुमाउछ त्यसकार उहाँले अविलम्व राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।’
साथै उनले मुख्यमन्त्रीको राजीनामा नआए प्रक्रिया सुरु गर्ने बताए । ‘राजनीति भनेको शक्ति र सत्ता मात्र होइन की आदर्शपनि हो भन्ने कुरा उहाँले स्थापित गर्नुपर्यो र संसदीय सर्वोच्चता कायम भएका मुलुकमा कहिपनि अल्पमतले शासन गरेको नजिर छैन’, उनले भने, ‘त्यसैले हामी केही दिन पर्खन्छौँ कथमकदाची उहाँले राजीनामा दिनुभएन भने हामी छलफल गरेर प्रक्रिया अगाडी बढाउछौँ ।’
लुम्बिनी प्रदेशसभाका ८७ सदस्यमध्ये माओवादीका दुई जना एमाले प्रवेशपछि कारबाहीमा र एमालेका दुई जनाले प्रदेशसभा सदस्यबाटै राजीनामा दिएपछि ८३ सदस्य मात्र छन् । तीमध्ये एमालेका मात्र ३ जना छन् । त्यसैले एमाले एक्लैले सरकार बनाउन नसक्ने विपक्षीको दाबी छ । सत्तापक्ष एमाले भने बहुमत जुटाउने आन्तरिक कसरतमा छ ।
ग्रामीण तथा सहरी विकासमन्त्री हरी प्रसाद रिजाल अल्पमतमा परेको स्वीकार गर्दैनन् । आफूहरुसंग बहुमत रहेको उनको दाबी छ । सडकबाट भन्दा सदनमा फेस गर्न मन्त्री रिजालले विपक्षी गठबन्धनलाई चुनौती दिए ।
उनले भने, ‘पत्रिकामा रेडियोमा र सडकमा चिच्चाएर होइनकी सदनमा फेस गर्नुपर्यो, हामीले त अस्ति फेस गरेका होइनौ त ? नीति तथा कार्यक्रम त पास गरेर देखायौँ उहाँहरुले सके संसदमा बहुमत देखाए भै गो नी किन बाहिर बाहिर कराउनु पर्यो ।’
८३ सदस्यीय प्रदेशसभामा जसपाका ३ मन्त्री र एमालेका ३ सहित सरकारको पक्षमा ४१ सदस्य भएका छन् । विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्रका सभामुखसहित १९, नेपाली कांग्रेसका १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४२ जना भएका छन् ।




प्रतिक्रिया