जनता कसको साथमा छ देखाउन मंसिर २७ गते इतिहासकै ठूलो जनसभा गर्दैछौं : शंकर पोखरेल

जनता कसको साथमा छ देखाउन मंसिर २७ गते इतिहासकै ठूलो जनसभा गर्दैछौं : शंकर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् ।

सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई घाइते बनाएको भन्दै यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘भदौ २३ र २४ को घटनापछि मुलुक अग्रगमनमा होईन्, पश्चगमन र प्रतिगमनतर्फ अगाडि बढेको छ । जनताले लामो संघर्षबाट प्राप्त गरेको सार्वभौम सत्तामा आधारित संविधान घाइते भएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधि अंग प्रतिनिधि सभा विघटन भएको छ । यो दुवै काम हाम्रो पार्टी अनुसार भन्ने हो भने असंवैधानिक छ । यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता छ ।’

जेनजी आन्दोलनमा भएको तोडफोडहरु युवाहरुहरुको आन्दोलनको उद्देश्य नभएको भन्दै सुनियोजित तरिकाले युवाहरुलाई परिचालन गर्ने कामहरुको पहिचान गरेर कारबाही गर्नुपर्ने उनको भनाई छ ।

यस्तै उनले आगामी मंसिर २७ गते काठमाण्डुमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराए । प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनले जानकारी दिए ।

उनले भने ‘२७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाण्डुमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन ।’

यस्तै पोखरेलले एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन र्‍याली, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली तथा सभाको आयोजना गर्ने जानकारी गराए ।