दाङ – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएका छन् ।
हापुरेमा मंगलवार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रदेश ५ का इञ्चार्जसमेत रहेका पोखरेलले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गरे ।
नेपालले पाँच वर्षपछि दक्षिण एसियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने मुख्यमन्त्री पोखरेलले बताए । सरकारका गतिविधिप्रति प्रतिपक्षी दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै उनले सरकारको प्रगति हेर्न तीन वर्ष कुर्न आग्रह गरे ।
‘जिल्लाको विकासका लागि प्रदेशसभा सदस्य स्व उत्तरकुमार वली सदैव लागि पर्नुभयो’, मुख्यमन्त्री पोखरेलले भने, ‘भविष्य कोर्ने जिम्मेवारी अब ने क पाका उम्मेदवार विमला वलीको काँधमा आएको छ ।’
सो अवसरमा ने क पा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए ।




प्रतिक्रिया