काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु दुःखद रहेको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले आफूसँग संसदमा बहुमत रहेको भन्दै सूर्य चिन्हबाट चुनाव लडेकी सांसद विमला केसीले दल त्याग गरेको विषयमा विवाद निकाल्नु जालसाजीपूर्ण सहभागिता देखिनु दुःखद भएको बताए ।
उनले लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको पनि स्पष्ट पारेका छन् । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको भन्दै मुख्यमन्त्री पोखरेलले नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप हुने बताएका छन् ।
उनले सांसद विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आएको बताएका छन् ।
‘उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ’, उनले भनेका छन् ।
मुख्यमन्त्री पोखरेलले चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाएको पनि बताएका छन् ।
‘सूर्य चिन्हवाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्यदललाई हुन सक्तैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो’, उनले भनेका छन् ।
अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमतरहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षडयन्त्रपूर्ण नाटक मंचनपछि नेकपा(एमाले) वहुमत प्राप्त दल बनेको उनले बताए ।
जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसकेको मुख्यमन्त्री पोखरेलले बताए ।
साथै उनले संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार नदिएकोसमेत पनि बताएका छन् । चुनाव चिन्ह सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद विषय भएको उनको भनाई छ ।
मुख्यमन्त्री पोखरेलले नियुक्ति पछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितीको उपज रहेको बताए ।
उनले सूर्यचिन्ह लिएर उमेद्वार भइ सांसद भएकाहरुलाई अर्को दलले आफ्नो पक्षको भनेर दावी गर्नेकुरा संविधान विरोधी र अराजनीतिक रहेको पनि बताए ।
‘यसप्रकरणमा के कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जानेछन् । वहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ र रहीरहने छ । संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर वहुमत गुमेको अवस्थामा सरकारमा रही रहने कुरा सम्भव छैन । तर अहिलेको अवस्था त्यो होइन’, मुख्यमन्त्री पोखरेलले भने, ‘जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनु भएको छ उहाँहरुले लुम्विनी सरकार विरुद्ध प्रपोगण्डा संचालन गर्नु स्वभाविक हो ।’




प्रतिक्रिया